रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई चुनावसम्म मात्रै उपयोग गर्न खोजेको प्रभु साहको आरोप

 

दिपेश कुमार शाह , रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व तहले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउने रणनीति अपनाएको आरोप लगाएका छन्। उनले सरकार गठन भएको ६ महिना नपुग्दै प्रधानमन्त्रीलाई पदबाट विस्थापित गर्ने प्रयास भइरहेको दाबी गरेका हुन्।

रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीद्वारा आयोजित शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै साहले वर्तमान सरकारलाई अन्य राजनीतिक दलबाट भन्दा आफ्नै पार्टीभित्रबाट चुनौती सिर्जना भइरहेको टिप्पणी गरे। उनले रास्वपाको आन्तरिक राजनीतिक गतिविधिबारे वास्तविकता चाँडै सार्वजनिक हुने दाबीसमेत गरे।

आजपा अध्यक्ष साहले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले तथा पूर्वउपसभापति एवं वर्तमान सभामुख डीपी अर्याल प्रधानमन्त्री शाहलाई कमजोर बनाउने उद्देश्यले एकजुट भएको आरोप लगाए। यद्यपि, यस विषयमा सम्बन्धित नेताहरूको प्रतिक्रिया र आरोपको स्वतन्त्र पुष्टि उपलब्ध छैन।

लामिछानेको यसअघि सम्पन्न भारत भ्रमण, चीन भ्रमणको तयारी तथा हालै पुनः धार्मिक यात्राका लागि भारत गएको प्रसंग उठाउँदै साहले यी गतिविधिलाई राजनीतिक दृष्टिले पनि विश्लेषण गर्नुपर्ने बताए। अर्थमन्त्री वाग्ले पनि भारत भ्रमणमा रहेको उल्लेख गर्दै उनले रास्वपाको नेतृत्व तहबाट भइरहेका लगातारका भारत भ्रमणलाई सामान्य रूपमा मात्रै लिन नहुने धारणा राखे।

साहले रास्वपाको नेतृत्वले प्रधानमन्त्री शाहलाई आगामी स्थानीय तहको निर्वाचनसम्म मात्रै राजनीतिक रूपमा उपयोग गर्न खोजेको आरोप लगाउँदै यसप्रति सचेत रहनुपर्ने बताए। उनका अनुसार पार्टीको ध्यान देश र जनताका समस्याभन्दा चुनावी रणनीति, पद र सत्तामा बढी केन्द्रित देखिएको छ।

कार्यक्रममा आफ्नो धारणा राख्दै साहले भने, “घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो। देश र जनताको बारेमा उनीहरूलाई कुनै चिन्ता छैन। यस्तो अवसरवादी सोच भएकाहरूबाट सचेत हुनुपर्छ।

त्यसैगरी, रास्वपाका सभापति लामिछानेनिकट कार्यकर्ताहरूको सामाजिक सञ्जालमा प्रस्तुत हुने शैलीप्रति पनि साहले आलोचना गरे। उनले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी र गालीगलौज बढेको आरोप लगाउँदै सामाजिक सम्बन्ध र मर्यादाको सम्मान गर्नुपर्नेमा जोड दिए।

गरुडामा आयोजित उक्त कार्यक्रममा अग्रगामी मोर्चाका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा शुभकामना आदानप्रदानसँगै समसामयिक राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीबारे चर्चा गरिएको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित