मैत्री पुलमा ई–रिक्साको अव्यवस्थित पार्किङ हटाउन माग गर्दै सरोकार मञ्चद्वारा मेयरलाई ज्ञापनपत्र

 

वीरगंज। भारत–नेपाल मैत्री पुलको दुवैतर्फ हुँदै आएको ई–रिक्साको अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न माग गर्दै सरोकार मञ्चले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ज्ञापनपत्र बुझाएको छ।

मैत्री पुलको नेपाल र भारत दुवैतर्फ ई–रिक्सा जथाभावी पार्किङ गरिँदा दुवै देशका नागरिकलाई आवतजावतमा समस्या भइरहेको छ। पुलको दुवैतर्फ बिहानदेखि साँझसम्म ई–रिक्सा अव्यवस्थित रूपमा राखिने हुँदा सवारीसाधनको आवागमन प्रभावित हुनुका साथै पटक–पटक जामको समस्या उत्पन्न हुने गरेको छ।

यस समस्याको दीर्घकालीन समाधानका लागि सरोकार मञ्चका सदस्यहरूले मेयर सिंहलाई ज्ञापनपत्र बुझाउँदै ई–रिक्साको पार्किङ व्यवस्थित गर्न माग गरेका हुन्।

ज्ञापनपत्रमा मैत्री पुलको दुवैतर्फ ई–रिक्साको अनियन्त्रित पार्किङका कारण भारत र नेपालबीच आवतजावत गर्ने नागरिकले दैनिकजसो जामको समस्या झेल्नुपरेको उल्लेख गरिएको छ। पुलमा सवारीसाधनको आवागमन भइरहेका बेला ई–रिक्सा जथाभावी पार्किङ गरिँदा यातायात व्यवस्थापनमा कठिनाइ हुने गरेको जनाइएको छ। यसबाट सर्वसाधारण यात्रुका साथै सीमावर्ती क्षेत्रका बासिन्दासमेत प्रभावित हुँदै आएका छन्।

आगामी दीपावली तथा छठ पर्वका अवसरमा रक्सौल बजारमा नेपाल र भारतका हजारौँ नागरिक किनमेलका लागि आउने भएकाले सवारी चाप थप बढ्ने सम्भावना रहेको मञ्चले जनाएको छ। यस्तो अवस्थामा मैत्री पुलमा ई–रिक्साको अव्यवस्थित पार्किङले जामको समस्या थप जटिल बन्न सक्ने भन्दै समयमै आवश्यक व्यवस्थापन गर्न माग गरिएको छ।

ज्ञापनपत्रमार्फत मैत्री पुलमा जथाभावी ई–रिक्सा पार्किङ गर्न रोक लगाउन, ई–रिक्साका लागि निश्चित पार्किङस्थल तोक्न तथा पुलको दुवैतर्फ यातायात आवागमन सहज बनाउन आवश्यक कदम चाल्न महानगरपालिकासँग आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझ्दै मेयर राजेशमान सिंहले उक्त समस्या समाधानका लागि आवश्यक व्यवस्था तत्काल लागू गरी दीर्घकालीन समाधान खोज्ने आश्वासन दिएको मञ्चले जनाएको छ।

ज्ञापनपत्र बुझाउने टोलीमा सरोकार मञ्चका सचिव राजेश कुमार वर्मा तथा सदस्यहरू रञ्जन किशोर मिश्र र पिंकी कुमारी सहभागी थिए।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित