अभिलाष गुप्ता/वीरगञ्ज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगञ्जमा कारोबार गरी नाफा कमाउँदै आएका बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम वीरगञ्जकै सामाजिक तथा विकासमूलक कार्यमा खर्च गर्न आग्रह गरेका छन्।
बुधबार साँझ वीरगञ्जस्थित कन्ट्री इन होटलको सभाकक्षमा ‘क’ वर्गका बैंकका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूसँग भएको छलफलमा सांसद पन्तले यस्तो आग्रह गरेका हुन्।
छलफलका क्रममा सांसद पन्तले वीरगञ्जको आर्थिक तथा सामाजिक विकासमा बैंकहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यहाँबाट आर्जन गरेको नाफाको केही हिस्सा यहीँको समाजको हितमा खर्च गर्नुपर्नेमा जोड दिए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम स्थानीय आवश्यकतासँग जोडिएका क्षेत्रमा परिचालन गर्न बैंकहरूलाई आग्रह गरे।
उनले निर्वाचनअघि र निर्वाचनपछि घरदैलोका क्रममा समाजमा सानो लगानी र सामान्य प्रयासबाट पनि ठूलो परिणाम दिन सक्ने थुप्रै सामाजिक कामहरू देखेको बताए। तर, त्यस्ता काम सम्पन्न गर्न आवश्यक स्रोत तथा कोषको अभाव रहेको उल्लेख गर्दै सांसद पन्तले आफूहरूसँग पर्याप्त स्रोत नहुँदा स्थानीयस्तरका कतिपय उपयोगी काम पूरा गर्न नसकिएको बताए। उनले यस्ता सामाजिक कार्यमा बैंकहरूले सहयोगको हात बढाउनुपर्ने धारणा राखे।
छलफलमा बैंकर्स संघका अध्यक्ष रोहिणी आचार्यलगायत विभिन्न बैंकका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम निर्धारित क्षेत्र र मापदण्डअनुसार सहकार्य गरी सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
छलफलमा नेपाल एसबीआई बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र ग्लोबल आईएमई बैंकका प्रदेश प्रमुखहरू सहभागी थिए। त्यसैगरी प्राइम बैंक, हिमालयन बैंक, नबिल बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, एभरेस्ट बैंक, प्रभु बैंक तथा एनआईसी एसिया बैंकका वीरगञ्जस्थित शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
कृष्ण पासवानले सहजीकरण गरेको उक्त छलफलमा रास्वपाका क्षेत्रीय सभापति तेज समशेर जबरा, उपसभापति किशोर यादव, सचिव सुदिस प्रजापति, महमादिन आलम र सम्साद आलमलगायतको उपस्थिति थियो।
सीएसआर रकम सामाजिक विकासमा खर्च गर्नुपर्ने व्यवस्था नेपालको औद्योगिक व्यवसाय ऐन, २०७६ ले तोकिएका मापदण्ड पूरा गर्ने उद्योग तथा प्रतिष्ठानका लागि कर्पोरेट सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था गरेको छ। यसअन्तर्गत सम्बन्धित मापदण्ड पूरा गर्ने उद्योग तथा प्रतिष्ठानले वार्षिक खुद मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ।
सीएसआरअन्तर्गतको रकम सामाजिक, वातावरणीय तथा विकासमूलक कार्यमा परिचालन गर्दा स्थानीय समुदायको आवश्यकता सम्बोधन हुनुका साथै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामुदायिक विकासमा समेत योगदान पुग्न सक्छ। वीरगञ्जमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर यस्तो रकम खर्च गर्न सकेमा त्यसबाट यहाँको समाजले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।








