पर्सा/ वीरगञ्ज भन्सार क्षेत्रमा हुने भीडभाड तथा सवारी आवागमनको समस्या समाधान गर्न एकीकृत सुरक्षा पोइन्ट सञ्चालन गर्ने तयारी भइरहेको छ। वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्याशी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेलका अनुसार जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा सम्बन्धित निकायहरूसँग छलफल गरी प्रक्रिया अघि बढाइएको हो।
पटेलले प्रमुख जिल्ला अधिकारी भोला दाहालसँगको छलफलमा जिल्ला प्रहरी कार्यालय, भन्सार कार्यालय र वीरगञ्ज उद्योग वाणिज्य संघसँग समन्वय गरेर एकीकृत सुरक्षा पोइन्ट सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार करिब एक महिनाअघि नै यसका लागि आवश्यक काम सुरु गरिएको छ। आगामी एक महिनाभित्र पोइन्ट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
नेपालको प्रमुख व्यापारिक नाकामध्ये एक वीरगञ्ज भन्सार क्षेत्रमा दैनिक रूपमा मालवाहक तथा अन्य सवारीसाधनको चाप रहने गरेको छ। उचित व्यवस्थापनको अभावमा आवागमन प्रभावित हुँदा सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको छ।
एकीकृत सुरक्षा पोइन्ट सञ्चालनमा आएपछि भन्सार क्षेत्रको सुरक्षा व्यवस्था मजबुत हुनुका साथै सवारी आवागमन व्यवस्थित गर्न र भीडभाड नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ।








