वीरगञ्जमा ड्रेन वन सरसफाइ अभियान पुनः सुरु, नालालाई व्यवस्थित बनाउने लक्ष्यथ

 

पर्सा/ वीरगञ्ज महानगरपालिकाको प्रमुख नालामध्ये एक ड्रेन वनको सरसफाइ अभियान पुनः सञ्चालन गरिएको छ। वीरगञ्ज महानगरपालिका र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा नालाको सरसफाइ तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले अभियान पुनः सुरु गरिएको हो।

ड्रेन वनलाई व्यवस्थित, सफा र दुर्गन्धमुक्त बनाउने लक्ष्यसहित नालामा ढुङ्गा राखेर सरसफाइको काम अगाडि बढाइएको छ। नालामा फोहोर जम्मा हुने, पानीको निकासमा समस्या आउने तथा आसपासको वातावरण प्रदूषित हुने अवस्थालाई न्यूनीकरण गर्न अभियानले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदी, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, सर्फुदिन मियालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नगर प्रमुख सिंहले वीरगञ्जलाई सफा, सुन्दर र व्यवस्थित सहर बनाउनु सबैको साझा जिम्मेवारी भएको बताए। उनले महानगरपालिकाको सरसफाइ, नाला व्यवस्थापन तथा वातावरण संरक्षणका कामलाई प्रभावकारी बनाउन स्थानीय संघसंस्था, प्रहरी प्रशासन र नगरवासीबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

उनले सरसफाइ अभियानलाई निरन्तरता दिँदै सार्वजनिक स्थान तथा नालाहरूलाई व्यवस्थित राख्न सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले पनि सरसफाइ, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न निकायसँग सहकार्य गर्दै आएको छ। ड्रेन वनको सरसफाइ अभियानलाई पुनः सञ्चालन गरिएसँगै नालाको उचित व्यवस्थापन र आसपासको क्षेत्रलाई स्वच्छ राख्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।

सहरी सरसफाइलाई दिगो बनाउन अभियान सञ्चालन गर्नुका साथै नालामा फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र नियमित अनुगमन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ। महानगरपालिका, सामुदायिक प्रहरी तथा स्थानीयवासीबीच निरन्तर सहकार्य हुन सके ड्रेन वनको सरसफाइ र व्यवस्थापनलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित