विश्व वातावरण दिवसमा रक्सौलमा वृक्षारोपण

 

रक्सौल (पूर्वी चम्पारण), जेठ २२ — विश्व वातावरण दिवसको अवसरमा भारत विकास परिषद्, रक्सौल शाखाले विवेकानन्दपुरीस्थित सरस्वती विद्या मन्दिर परिसरमा वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

“हामी सबै मिलेर रूख रोपौं, पृथ्वी माताको ऋण चुक्ता गरौं” भन्ने नारासहित आयोजित कार्यक्रममा भारत माता तथा स्वामी विवेकानन्दको तस्बिरमा पुष्प अर्पण गरी ‘वन्दे मातरम्’ गायनबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रम संरक्षक अवधेश सिंहको अध्यक्षता तथा उमेश सिकरियाको सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै शाखा अध्यक्ष रजनीश प्रियदर्शीले भारतीय संस्कृतिमा प्रकृतिलाई मातासरह सम्मान गर्ने परम्परा रहेको उल्लेख गर्दै वातावरण संरक्षण आजको प्रमुख आवश्यकता बनेको बताए। उनले बढ्दो प्रदूषण र जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न सबैले प्रकृतिप्रति आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए।

वातावरण संयोजक विजय कुमार साहले रूख मानव जीवनका लागि अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै स्वच्छ हावा, जल संरक्षण, शीतल छाया तथा स्वस्थ वातावरणका लागि वृक्षारोपण अपरिहार्य रहेको बताए। उनले “एक सदस्य, एक रूख” अभियानलाई सफल बनाउन सबैलाई आह्वान गरे।

संरक्षक अवधेश सिंह, सचिव नरेश कुमार तथा सेवा संयोजक एवं मिडिया इन्चार्ज बिमल कुमार सर्राफले संयुक्त रूपमा पृथ्वीको संरक्षण प्रत्येक नागरिकको नैतिक जिम्मेवारी भएको बताउँदै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न कम्तीमा एक रूख रोप्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमअन्तर्गत औषधीय, फलफूल दिने, अक्सिजन उत्सर्जन गर्ने तथा छायाँ प्रदान गर्ने विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका थिए। विद्यालयका प्रधानाध्यापक प्रेमरञ्जन पटेलले वातावरण संरक्षणलाई समयको सबैभन्दा महत्वपूर्ण आवश्यकता भएको उल्लेख गर्दै वृक्षारोपणलाई जनआन्दोलनका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा परिषद्का पदाधिकारी, शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमबारे जानकारी शाखाका सम्पर्क संयोजक उमेश सिकरिया तथा सेवा संयोजक सह–मिडिया इन्चार्ज बिमल कुमार सर्राफले संयुक्त रूपमा दिएका हुन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित