वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध दर्ता भएको लिखत कीर्ते तथा झुट्टा विवरण पेश गरेको मुद्दामा जिल्ला अदालत पर्साले ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ।
जिल्ला अदालत पर्साका न्यायाधीश गायत्रीप्रसाद रेग्मी को एकल इजलासले मुद्दामाथिको प्रारम्भिक सुनुवाइपछि सिंहलाई उक्त रकम धरौटी बुझाएपछि रिहा गर्न सकिने आदेश दिएको हो।
अदालत स्रोतका अनुसार सिंहविरुद्ध लिखत कीर्ते तथा झुट्टा विवरण पेश गरेको आरोपमा दुई छुट्टाछुट्टै कसुर अन्तर्गत मुद्दा दर्ता भएको थियो। अदालतले लिखत कीर्तेसम्बन्धी अभियोगमा ४ लाख रुपैयाँ र झुट्टा विवरण पेश गरेको अभियोगमा १५ हजार रुपैयाँ गरी कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी निर्धारण गरेको जनाएको छ।
जिल्ला अदालत पर्साका तहसिलदार देवराज भट्टराई का अनुसार अदालतको आदेशबमोजिम धरौटी रकम बुझाएपछि सिंह तारेखमा रिहा हुनेछन्। त्यसपछि मुद्दाको नियमित सुनुवाइ प्रक्रिया अगाडि बढाइनेछ।
अदालतले मुद्दाको अन्तिम फैसला नभएसम्म प्रमाण परीक्षण, बहस तथा अन्य कानुनी प्रक्रिया निरन्तर सञ्चालन हुने जनाएको छ। यस घटनाले स्थानीय राजनीतिक वृत्तमा समेत चासोको विषय बनेको छ।









