वीरगंज, २५ वैशाख
विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले बिहीबार वीरगंज स्थित शाखा भवनमा विविध कार्यक्रम आयोजना गरेको छ। रेडक्रसका संस्थापक Jean Henry Dunant को योगदानको स्मरण गर्दै झण्डोत्तोलन, दीप प्रज्वलन तथा तस्बिरमा माल्यार्पण गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृजकिशोर पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मधु राणा, कार्यकारिणी सदस्य दिनानाथ रौनियार, मुना खनाल, अभिलाष गुप्ता, राजन श्रीवास्तव, लक्ष्मीनारायण राउत, बाबुनन्द चौरसिया, मिना क्षेत्री तथा कार्यालय प्रमुख बिरसमसेर कुर्मी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले मानव सेवा र परोपकारमा रेडक्रसले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै मानवताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
यसै अवसरमा पर्सास्थित रेडक्रस प्रावि विद्यालय लक्ष्मीपुरका विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, लेजर, कटर लगायतका शैक्षिक सामग्रीसँगै पाइन्ट र सर्ट वितरण गरिएको शाखाले जनाएको छ।
रेडक्रसले आयोजना गरेको कार्यक्रमले सामाजिक सेवा, शिक्षा र मानवताको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।








