वीरगंज/११ बैशाख
ट्राफिक प्रहरी कार्यालय वीरगंजले सरप्राइज चेकिङ अभियान सञ्चालन गर्दै भारतबाट अवैध रूपमा ल्याइएका नम्बर प्लेटबिहीन १३ वटा ईभी (इलेक्ट्रिक) स्कुटर नियन्त्रणमा लिएको छ।
ट्राफिक प्रहरी कार्यालय वीरगंजका वरिष्ठ सई अर्जुन सोडारीका अनुसार बिना नम्बर प्लेट सञ्चालनमा रहेका ती स्कुटरहरू चेकजाँचका क्रममा फेला परेपछि नियन्त्रणमा लिइएको हो। उनले अवैध सवारी साधनमाथि निगरानी बढाइएको र चेकजाँच थप कडा पारिएको जानकारी दिए।
प्रहरी निरीक्षक युवराज कटवालको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी टोलीले उक्त स्कुटरहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सबै स्कुटरहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक कटवालले बताए।
प्रहरीका अनुसार बिना नम्बर प्लेटका सवारी साधनले दुर्घटना गराएर फरार हुने जोखिम उच्च हुने गर्दछ। साथै, भारतबाट भन्सार प्रक्रिया पूरा नगरी अवैध रूपमा ल्याइएका यस्ता सवारी साधन निर्धक्क रूपमा सडकमा चलिरहेको पाइएकोले कारबाही कडा बनाइएको हो।
ट्राफिक प्रहरीले आगामी दिनमा समेत यस्ता अवैध सवारी साधनविरुद्ध नियमित रूपमा चेकजाँच अभियान जारी राख्ने जनाएको छ।








