वीरगंज, १ कात्तिक। बडादसैँको महाअष्टमीका अवसरमा आज वीरगंजस्थित विभिन्न शक्तिपीठहरूमा विशेष पूजाअर्चना तथा बलि चढाइएको छ। वीरगंजको प्रसिद्ध गहवामाई मन्दिरमा मात्रै १० हजारभन्दा बढी पशुपन्छीको बलि चढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
मन्दिर व्यवस्थापन समितिका अनुसार आज बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म बोका करिब ५ हजार तथा परेवा, हाँसलगायत अन्य पशुपन्छी गरी ५ हजारभन्दा बढीको बलि चढाइएको हो।
महाअष्टमीका अवसरमा बिहानैदेखि गहवामाई मन्दिरसहित पर्सा जिल्लाका विभिन्न शक्तिपीठहरूमा दर्शनार्थीको ठूलो घुइँचो लागेको थियो। भक्तजनहरूले नवदुर्गा भवानीको दर्शन तथा पूजाअर्चना गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
मेलामा सहभागी भक्तजनलाई विभिन्न संघसंस्था तथा स्थानीय युवाहरूले निःशुल्क चना, आलुको तरकारी, भुजा तथा खानेपानी वितरण गरेका थिए। यसले मेलामा आएका श्रद्धालुहरूलाई सहजता प्रदान गरेको थियो।
मेलाको सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले केही छिटफुट घटनाबाहेक जिल्लाको शान्ति सुरक्षा अवस्था सामान्य रहेको र स्थिति पूर्ण नियन्त्रणमा रहेको बताउनुभयो।
यसैबीच, आज साँझ साढे ६ बजे गहवामाई मन्दिर परिसरमा महाआरती आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
मङ्गलबार नवमी पूजन, विन्दवासिनीमाईमा परम्परागत मेला
यस वर्षको बडादसैँमा दुई दिन महाअष्टमी परेकाले मङ्गलबार मात्र महानवमीको पूजाआजा गरिने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आइतबार र सोमबार महाअष्टमी परेकाले मङ्गलबार नवमी पूजन गर्न लागिएको हो।
यसैबीच, वीरगंजको प्रसिद्ध विन्दवासिनीमाई मन्दिरमा लाग्दै आएको परम्परागत नवमी मेला पनि मङ्गलबार नै लाग्ने पण्डित पुरुषोत्तम उपाध्यायले जानकारी दिनुभयो।
महानवमीका दिन वीरगंजका बौद्धीमाई र विर्तामाई मन्दिर, बाराको जितपुरस्थित गढीमाई मन्दिर तथा सीमावर्ती भारतीय सहर रक्सौलको मनसामाई मन्दिरमा भव्य मेला लाग्ने परम्परा छ।
नवमीका दिन नेपाली सेनाले आफ्ना हातहतियारको पूजाआजा गर्ने तथा धार्मिक परम्पराअनुसार बलि चढाउने चलनसमेत रहँदै आएको छ।









