जलेश्वर सर्राफ/वीरगंज
पत्रकारलाई धम्क्याउने कार्य प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको प्रेस सेन्टरको ठहर वीरगञ्ज। प्रेस सेन्टर तथा खोजतलास दैनिकमा आबद्ध पत्रकार भरत सर्राफलाई निरञ्जन अग्रवालले फोनमार्फत धम्की दिएको आरोप सार्वजनिक भएपछि प्रेस सेन्टरले गम्भीर आपत्ति जनाएको छ।
पत्रकारलाई धम्क्याउने तथा त्रास सिर्जना गर्ने कार्य प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकमाथिको प्रहार भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरिएको छ। पत्रकार सर्राफलाई फोनमार्फत धम्की दिइएको भनिएको घटनाले पत्रकारहरूको सुरक्षा र निर्भीक रूपमा समाचार सम्प्रेषण गर्ने वातावरणमाथि प्रश्न उठाएको छ।
पत्रकारले जनसरोकारका विषयमा समाचार लेखेकै कारण धम्की, दबाब वा डरको सामना गर्नुपर्ने अवस्था सिर्जना हुनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हो। प्रेस सेन्टरले पत्रकारमाथि हुने कुनै पनि प्रकारको धम्की, दबाब र दुर्व्यवहार सह्य नहुने स्पष्ट पार्दै घटनालाई गम्भीरतापूर्वक लिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता औँल्याएको छ।
पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्य तथा सम्बन्धित सुरक्षा निकायको दायित्व हो। यसैबीच, निरञ्जन अग्रवालको नागरिकतासम्बन्धी विषयमा समेत प्रश्न उठाइएको छ। उनीमाथि लगाइएको दोहोरो नागरिकतासम्बन्धी आरोपको निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणका आधारमा सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। नागरिकताजस्तो संवेदनशील विषयमा कुनै पनि निष्कर्षमा पुग्नुअघि आधिकारिक अभिलेख र कानुनी प्रक्रियाबाट पुष्टि हुन आवश्यक छ।
पत्रकारमाथि धम्की दिएको आरोपमा निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषी ठहरिने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न तथा पत्रकारको सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरिएको छ। पत्रकारलाई धम्की दिएर समाचार लेख्ने कलम रोक्न सकिँदैन। प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको सुरक्षा र कानुनी शासनको सुनिश्चितताका लागि यस्ता घटनाको निष्पक्ष छानबिन र कानुनअनुसारको कारबाही अपरिहार्य छ।”









