वीरगंजका टिकटकर नचनिया दिपमाला पटेल भारतमा चोरीको मोबाईल सहित पक्राउ।

 

जलेश्वर सर्राफ/वीरगंज

​वीरगन्ज / बिहार,  ३० असोज ।

गुप्त सूचनाका आधारमा खटिएको भारतीय प्रहरी टोलीले चेकजाँचका क्रममा चोरीका ५९ थान बहुमूल्य मोबाइलसहित ५ जनाको गिरोहलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरगन्जकी चर्चित ‘टिकटकर’ तथा नचनिया दीपमाला पटेलसहित भारतका विभिन्न स्थानका चार जना रहेका छन्।

​बिहारको पूर्वी चम्पारण जिल्लाअन्तर्गत मेहसी थानाको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको सवारी साधन (BR 05 PQ 4338) लाई रोकेर खानतलासी लिएको थियो। खानतलासीका क्रममा गाडीभित्र लुकाएर राखिएका विभिन्न ब्रान्डका ५९ थान चोरीका मोबाइल बरामद भएपछि गाडीमा सवार सबैलाई नियन्त्रणमा लिइएको हो।

​पक्राउ पर्नेहरूमा:

​दीपमाला पटेल: नेपालको पर्सा जिल्ला, चिकनी स्थायी घर भई हाल वीरगन्जमा डेरा गरी बस्दै आएकी टिकटकर तथा नचनिया।

​रामप्रवेश कुमार: रामगढवा थाना क्षेत्र, बिहार।

​नवनित सिंह: रक्सौल, बिहार।

​साहेब कुमार: घोडासहन, बिहार।

​लक्ष्मी कुमारी: सिक्टा, बिहार।

​प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यो समूह सीमावर्ती क्षेत्रमा मोबाइल चोरी तथा अवैध तस्करीका गतिविधिमा संलग्न रहँदै आएको आशंका गरिएको छ। सामाजिक सञ्जालमा सक्रियताको आडमा आपराधिक गतिविधि ढाकछोप गर्ने प्रयास भइरहेको थियो कि भन्नेबारे पनि प्रहरीले गम्भीरताका साथ छानबिन अघि बढाएको छ।

​भारतीय प्रहरीका अनुसार पक्राउ परेका आरोपीहरूसँग थप सोधपुछ भइरहेको छ भने यस सञ्जालमा संलग्न अन्य मुख्य योजनाकार र सहयोगीहरूको खोजी कार्य तीव्र पारिएको छ। सीमापार हुने यस्ता संगठित अपराधविरुद्ध प्रहरीले अपरेसन अझ कडा बनाउने जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित