वीरगञ्ज । स्नातकोत्तर (PG) आवासीय चिकित्सकसँग सम्बन्धित पछिल्लो विवादबारे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जले तथ्यगत स्पष्टीकरण सार्वजनिक गरेको छ। कलेजले विभिन्न सञ्चारमाध्यममा आएका समाचार तथा सार्वजनिक आरोपका सम्बन्धमा घटनाक्रमको आफ्नो पक्ष स्पष्ट गरेको हो।
कलेजद्वारा जारी प्रेस विज्ञप्तिमा स्नातकोत्तर प्रथम वर्षका केही आवासीय चिकित्सकले औपचारिक रूपमा उपस्थित भई प्रशिक्षण सुरु गर्नुअघि नै कलेजको शैक्षिक तथा क्लिनिकल वातावरण, सम्बन्धित विभागीय प्रमुख (HOD), PG Coordinator लगायतसँग नियमित समन्वयमा रहनुपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार २३ सेप्टेम्बर २०२६ मा स्नातकोत्तर आवासीय चिकित्सकहरूले कलेजसमक्ष मुख्य रूपमा तीनवटा विषय प्रस्तुत गरेका थिए। त्यसमा स्टाइपेन्ड/प्रोत्साहन भत्ता, शुक्रबार वा आइतबार बिदा तथा शनिबारको हाजिरीसम्बन्धी विषय र २४ घण्टे ड्युटीपछि पोस्ट–ड्युटी बिदासम्बन्धी माग रहेका थिए।
कलेजले ती विषयमा सम्बन्धित आवासीय चिकित्सक तथा शैक्षिक पदाधिकारीसँग छलफल गरी समाधान खोज्ने प्रयास गरिएको जनाएको छ। तर त्यसपछि थप मागहरू प्रस्तुत हुँदै गएको र पेन–डाउन/काम रोक्ने कार्यक्रम सुरु गरिएको कलेजको दाबी छ।
कलेजका अनुसार पेन–डाउन सुरु भएपछि प्रारम्भिक मागभन्दा बाहिरका विभिन्न विषयसमेत उठाइएका थिए। यस क्रममा चिकित्सक र कलेज प्रशासनबीच असहज अवस्था सिर्जना भएको तथा घटनासँग सम्बन्धित CCTV/भिडियो अभिलेख कलेजसँग सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ।
कलेजले आन्दोलनका क्रममा केही चिकित्सकमाथि हातपात तथा धकेलाधकेल भएको दाबी गर्दै त्यसबाट शैक्षिक तथा क्लिनिकल वातावरण प्रभावित भएको जनाएको छ। विभिन्न विभागका HOD, PG Coordinator तथा संकाय सदस्यहरूलाई दबाबमा पार्ने गतिविधि भएको पनि कलेजको दाबी छ।
विवादका कारण स्नातकोत्तर प्रथम वर्षका आवासीय चिकित्सकहरूको नियमित शैक्षिक तथा क्लिनिकल प्रशिक्षण प्रभावित भएको कलेजले जनाएको छ। नियमित प्रशिक्षणमा नफर्किएका आवासीय चिकित्सकलाई IOM/त्रिभुवन विश्वविद्यालयमा फिर्ता पठाउन सिफारिस गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
कलेजले प्रारम्भिक माग समाधानका लागि सम्बन्धित निकायलाई जानकारी गराउनुका साथै वार्ता, लिखित समाधान प्रस्ताव र नियमित जिम्मेवारीमा फर्कने अवसर दिइएको जनाएको छ। पटक–पटक संवाद तथा समाधानको प्रयास गर्दा पनि शिक्षण–सिकाइप्रतिको विश्वास र संस्थागत वातावरण कमजोर हुँदै गएको अवस्थामा संस्थागत निर्णय लिनुपरेको कलेजको स्पष्टीकरण छ।
विज्ञप्तिमा कलेजले घटनासम्बन्धी प्रारम्भिक निवेदन, समाधान अभिलेख, IOM सँगको पत्राचार, वार्ता सूचना, लिखित प्रस्ताव तथा बैठकका माइन्युटलगायत आवश्यक कागजात उपलब्ध गराउन सकिने जनाएको छ। आवश्यक परेमा सम्बन्धित CCTV/भिडियो प्रमाणसमेत उपलब्ध गराउन सकिने कलेज प्रशासनले जनाएको छ।

कलेज प्रशासनले विवादलाई संवाद, तथ्य र संस्थागत प्रक्रियामार्फत समाधान गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ। साथै, शिक्षक–विद्यार्थीबीचको विश्वास, व्यावसायिक सम्मान तथा सुरक्षित शैक्षिक वातावरण कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।









