दिपेश कुमार शाह, रौतहट ।
रौतहटको कटहरिया नगरपालिका–४ मा सुरु भएको केरा खेती पछिल्लो समय विस्तार हुँदै गएको छ। एक जना किसानले सुरुआत गरेको केरा खेती अहिले धेरै किसानले अपनाउन थालेपछि क्षेत्रमै यसको व्यावसायिक विस्तार भएको हो।
श्री जनता माध्यमिक विद्यालयको प्रयोगविहीन जग्गालाई २०७५/०७६ मा जनकपुरका किसानलाई लिजमा दिई केरा खेती सुरु गर्न पहल गरिएको वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले बताएका छन्। अहिले केरा खेती स्थानीयको रोजगारी र आम्दानीको स्रोतसँगै कटहरियाको कृषि पहिचान बन्न थालेको उनको भनाइ छ।
वडा अध्यक्ष कुशवाहाका अनुसार बजारमा नेपाली केराको माग बढेको छ। भारतबाट आउने केराको आपूर्ति कम हुँदा नेपाली केराको माग अझ बढेको भन्दै किसानलाई आवश्यक मल, बीउ तथा अन्य कृषि सामग्री सहज रूपमा उपलब्ध गराउन नेपाल सरकारसँग उनले आग्रह गरेका छन्।
उनले नेपाली किसानले उत्पादन बढाउन खोजिरहेको अवस्थामा मल–बीउको अभाव हुन नदिन सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने बताए। साथै किसानको उत्पादनका लागि उचित बजार र भण्डारणको व्यवस्था गर्न सके केरा खेती अझ विस्तार भएर स्थानीय अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ।
रौतहट केरा संघका अध्यक्ष मनु यादवले पनि केरा किसानलाई प्रोत्साहन गर्दै बजार व्यवस्थापन, मल–बीउ र आवश्यक कृषि सामग्रीको सहज उपलब्धतामा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्। केरा खेतीप्रति किसानको आकर्षण बढ्दै गएको अवस्थामा सरकारी सहयोग पाए कटहरिया क्षेत्रलाई केराको उत्पादन केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ।









