वीरगञ्जमा भारतीय राजदूत, व्यापार सहजीकरणमा जोड

 

वीरगञ्ज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतबीचको व्यापारलाई थप सहज र प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताएका छन्।

सेप्टेम्बर ११ र १२ मा वीरगञ्ज भ्रमण गरेका राजदूत श्रीवास्तवले वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी), भन्सार तथा टर्मिनलका अधिकारीहरूसँग भेट गरी सीमापार व्यापार सहजीकरणका विषयमा छलफल गरेका हुन्।

भ्रमणका क्रममा उनले वीरगञ्ज भन्सार प्रमुख, टर्मिनल प्रमुखलगायत अधिकारीसँग भेट गरी सीमापार व्यापार तथा आवागमनका विषयमा जानकारी लिएका थिए। त्यसपछि उनले भारतको रक्सौलस्थित आईसीपीको समेत भ्रमण गरी भारतीय भूमि बन्दरगाह प्राधिकरण (एलपीएआई), सशस्त्र सीमा बल (एसएसबी), भन्सार, अध्यागमन, वनस्पति क्वारेन्टाइन तथा भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई)का वरिष्ठ अधिकारीसँग भेट गरेका थिए।

सो भेटमा सीमापार व्यापार सहजीकरण तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समीक्षा गरिएको थियो।

राजदूत श्रीवास्तवले रक्सौलस्थित भारतीय दूतावासको बंगलामा पुगेर वृक्षरोपणसमेत गरेका थिए। सोही साँझ उनले भारत–नेपाल सहयोग मञ्च तथा नेपाल–भारत मैत्री संघका प्रतिनिधिमण्डलसँग भेटघाट गरेका थिए।

त्यसैगरी, उनले वीरगञ्जका उद्योगी व्यवसायी तथा वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) र नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)का प्रतिनिधिसँग अन्तरक्रिया गरेका थिए। अन्तरक्रियामा नेपाल–भारत व्यापार, आर्थिक सहकार्य तथा सीमावर्ती व्यापारका विभिन्न विषयमा छलफल भएको थियो।

भ्रमणको दोस्रो दिन सेप्टेम्बर १२ को बिहान राजदूत श्रीवास्तवले स्थानीय सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका थिए। सो अवसरमा उनले नेपाल र भारतबीचको गहिरो तथा दिगो मित्रतामा जोड दिँदै नेपालको विकासमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

राजदूत श्रीवास्तवले नेपालमा बाढी प्रभावितका लागि भारतले उपलब्ध गराउँदै आएको राहत सहयोगबारे समेत जानकारी गराएका थिए। उनका अनुसार अगस्ट २६, २०२६ देखि भारतले नेपालमा १३० टनभन्दा बढी राहत सामग्री पठाइसकेको छ। राहत सामग्रीमा आश्रय सामग्री, कम्बल, सरसफाइ सामग्री, सौर्य बत्ती तथा औषधिलगायत रहेका छन्।

भारतले आठवटा भारतीय वायुसेनाका उडानमार्फत राहत सामग्री पठाएको तथा चिलिमे र लाङटाङ क्षेत्रमा उद्धार कार्यका लागि विशेष सुरुङ उद्धार टोलीसहित ५४ जना विशेषज्ञ कर्मचारी परिचालन गरेको राजदूत श्रीवास्तवले जानकारी दिएका थिए।

त्यस्तै, बाढी तथा विपद्बाट प्रभावित क्षेत्रको उद्धार तथा पुनःस्थापनाका लागि भारतले डीएनए किट र फरेन्सिक सहयोग उपलब्ध गराउनुका साथै यातायात सम्पर्क पुनःस्थापित गर्न बेली ब्रिज निर्माणका लागि आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराएको जनाएको छ। २३० फिट लामो पुल निर्माणका लागि १६ ट्रक सामग्री तथा थप सातवटा पुलका लागि आवश्यक सामग्री आपूर्ति गरिएको राजदूतले जानकारी दिएका थिए।

राजदूत श्रीवास्तवको वीरगञ्ज भ्रमणले नेपाल–भारतबीचको व्यापारिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउँदै सीमापार व्यापार सहजीकरणका लागि निरन्तर समन्वय र सहकार्यको आवश्यकतालाई उजागर गरेको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित