रौतहट । रौतहटको कटहरियामा सञ्चालित रेडियो बाज्जिकाचल एफएम ८९.२ मेगाहर्जको साप्ताहिक कार्यक्रम ‘पुरस्कार ५००’ का विजेता शैलेन्द्र गुप्तालाई साइकल प्रदान गरिएको छ।
मंगलबार आयोजित एक कार्यक्रममा श्री माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिनारायण कुशवाहा र कोपिला प्राथमिक विद्यालयकी प्रधानाध्यापक शुशीला कुमारी कुशवाहाले संयुक्त रूपमा गुप्तालाई साइकल हस्तान्तरण गरेका हुन्।
गत फागुनदेखि सञ्चालनमा रहेको रेडियो बाज्जिकाचल एफएमले नियमित तथा साप्ताहिक रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही क्रममा सञ्चालन हुँदै आएको ‘पुरस्कार ५००’ साप्ताहिक कार्यक्रमले श्रोता तथा विद्यार्थीमाझ चर्चा बटुल्दै गएको रेडियोले जनाएको छ।
कार्यक्रमले विद्यालयका विद्यार्थी तथा विभिन्न आयोगका परीक्षाको तयारी गरिरहेका व्यक्तिहरूलाई अध्ययनमा सहयोग पुग्ने सहभागीहरूले बताएका छन्। गाउँ–समाजमा नियमित रूपमा शैक्षिक तथा परीक्षा तयारीसम्बन्धी स्रोत–साधनको पहुँच नहुने अवस्थामा रेडियोमार्फत सञ्चालन हुने यस्ता कार्यक्रमले शिक्षण–सिकाइमा प्रभावकारी सहयोग पुर्याउने प्रधानाध्यापक कुशवाहाले बताए।
कार्यक्रममा पुरस्कारका विजेता शैलेन्द्र गुप्ताका बुवा अन्होती साहलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो।
रेडियो बाज्जिकाचल एफएम मिडिया प्रालिकी सञ्चालिका सरिता श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माध्यमिक विद्यालय भषेडवाका प्रधानाध्यापक कपिलदेव यादव, नरेन्द्र यादव, कटहरिया क्याम्पसका लेखा प्रमुख रामनिवास यादव, जितेन्द्र श्रीवास्तव, भैरोलाल महतो लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमबारे रेडियोका सञ्चालक राजु श्रीवास्तवले जानकारी दिएका छन्।









