बाढीपीडितको उपचारमा सहयोग गर्न वीरगञ्जमा रक्तदान

 

वीरगञ्ज, २२ भदौ

रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगञ्जमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका–१३ अन्तर्गत घण्टाघर चोकमा आयोजित कार्यक्रममा २९ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। ‘रक्तदान जीवनदान, सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ आर.पी. फाउन्डेसन र वीरगञ्ज महानगरपालिका–१३ को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता प्रतीक्षा अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका–१३ का वडाध्यक्ष हिरा गिरीको उपस्थिति रहेको थियो। कार्यक्रममा समाजसेवी राजेन्द्र भट्टराईलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का समयमा घाइते तथा बिरामीको उपचारका लागि रगतको माग बढ्ने भएकाले सम्भावित रक्त अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी रक्तदाताहरूले विपद्का कारण प्रभावित नागरिकको उपचारमा प्रत्यक्ष रूपमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।

आयोजकले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, सहयोगी तथा उपस्थित अतिथिहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित