वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन प्रयोग गरी वीरगञ्जस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्।
पर्सा प्रहरीले शनिबार राति सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा वीरगञ्ज–गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोबाट अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियो समेत नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएकामध्ये क्यासिनोका कर्मचारीसमेत रहेको प्रहरीले जनाएको छ।
सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि सरकारी सवारीसाधनसहित क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। पक्राउ परेकाहरूको पहिचान, उनीहरू क्यासिनो पुगेको कारण तथा घटनाको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले घटनासम्बन्धी विस्तृत विवरण आइतबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जानकारी दिएका छन्।
नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न कानुनी रूपमा प्रतिबन्ध रहेको अवस्थामा गाउँपालिका अध्यक्ष नै सरकारी सवारीसाधन लिएर क्यासिनो पुगेको घटनाले जनप्रतिनिधिको आचरण र सरकारी स्रोतसाधनको प्रयोगमाथि प्रश्न उठाएको छ।
प्रहरी स्रोतका अनुसार पर्सामा सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुगेका जनप्रतिनिधि पक्राउ परेको यो पहिलो घटना हो।









