कृष्ण जन्माष्टमीमा अश्लील गतिविधि रोक्न गढीमाईका युवाको माग

 

रौतहट/१८ भदौ

कृष्ण जन्माष्टमी पर्वलाई मर्यादित, शान्तिपूर्ण तथा धार्मिक वातावरणमा मनाउन माग गर्दै रौतहटको गढीमाई नगरपालिका–८बिरनगरा का युवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति विवेक प्रसाद यादव तथा स्थानीय समाजसेवी युवाहरूको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा जन्माष्टमीका अवसरमा हुने धार्मिक कार्यक्रमलाई विकृत बनाउने किसिमका गतिविधि नियन्त्रण गर्न प्रशासनसँग माग गरिएको छ।

ज्ञापनपत्रमा पर्वका क्रममा मेला तथा सांस्कृतिक कार्यक्रममा अत्यधिक ठूलो आवाजमा डिजे बजाउने, अश्लील नाच तथा गीत प्रस्तुत गर्ने, मदिरा सेवन गरी होहल्ला तथा झै–झगडा गर्ने जस्ता गतिविधि नियन्त्रण गर्न आग्रह गरिएको छ। यस्ता गतिविधिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा समेत नकारात्मक असर पार्न सक्ने भन्दै आयोजक तथा सम्बन्धित निकायलाई सचेत गराउन माग गरिएको छ।

त्यस्तै, सार्वजनिक स्थलमा मदिरा सेवन गरी हुलहुज्जत गर्ने तथा शान्ति भंग गर्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न, पर्वका समयमा सुरक्षा व्यवस्था मजबुत बनाउन तथा संवेदनशील क्षेत्रमा विशेष निगरानी राख्न प्रशासनसमक्ष आग्रह गरिएको छ।

ज्ञापनपत्रमा कृष्ण जन्माष्टमी हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण तथा पवित्र पर्व भएकाले यसको धार्मिक र सांस्कृतिक महत्व कायम राख्दै सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पर्ने गतिविधि रोक्न आवश्यक कदम चाल्न माग गरिएको छ।

स्थानीय युवाहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर सम्बन्धित अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित