विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट अस्पतालको नाम लेखिएको भ्यानमा लुकाएर राखिएको अवस्थामा ६० किलो गाँजा बरामद भएको छ।
विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरी बल नेपाल, बीओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति गाँजा बरामद गरेको हो।
राति करिब ११ बजेको समयमा ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले रोक्न खोजेका थिए। चेकजाँच गर्न खोजेपछि भ्यानका चालक गाडी छाडेर फरार भएका थिए।
चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यानको खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गाँजा र भ्यान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। फरार चालकको खोजी भइरहेको छ।









