पर्सा । जगरनाथपुर गाउँपालिकामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास (DID) सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
ACCESS परियोजनाअन्तर्गत सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा एकाउन्टेबिलिटी ल्याब नेपालको प्राविधिक सहकार्यमा गाउँपालिकाको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो।
गाउँपालिकाकी उपाध्यक्ष बविता सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारी, लैङ्गिक फोकल पर्सन, अपाङ्गता समन्वय समितिका प्रतिनिधि, सामाजिक अभियन्ता तथा बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई दया वा उपकारको पात्रका रूपमा नभई समान अधिकार भएका नागरिकका रूपमा विकासको मूलधारमा समेट्नुपर्नेमा जोड दिइएको थियो। सहभागीहरूले गाउँपालिकाभित्रका विद्यालय तथा सार्वजनिक भवनलाई अपाङ्गतामैत्री बनाउनुका साथै सार्वजनिक सेवा सबैका लागि सहज र पहुँचयोग्य बनाउनुपर्ने धारणा राखेका थिए।
अन्तरक्रियामा अपाङ्गताको वर्गीकरण, समावेशी शिक्षा, पहुँचयुक्त पूर्वाधार निर्माण, बजेट व्यवस्थापन तथा स्रोत परिचालनलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको थियो। आगामी योजना तथा बजेटमा अपाङ्गता समावेशी विकासलाई प्राथमिकता दिने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले समावेशी नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्रै स्थानीय तहको वास्तविक विकास सम्भव हुने बताए।
कार्यक्रममा एकाउन्टेबिलिटी ल्याब नेपालका CFA दिपेश पटेल, SODCC पर्साका कार्यकारी निर्देशक रुपक पाण्डे तथा कार्यसमिति सदस्य पूर्णवासी राउतलगायतले स्थानीय सरकार र गैरसरकारी क्षेत्रको सहकार्यबाट समाजका सबै वर्ग र समुदायसम्म विकासको पहुँच पुर्याउन सकिने धारणा व्यक्त गरेका थिए।
अन्तरक्रियाले जगरनाथपुर गाउँपालिकाको आगामी योजना, बजेट विनियोजन तथा सेवा प्रवाहलाई थप समावेशी, पहुँचयोग्य र उत्तरदायी बनाउन सहयोग पुग्ने आयोजकले जनाएको छ।









