वीरगञ्ज । पूर्व श्री ५ मुमावडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९९औँ शुभ जन्मोत्सवको अवसरमा नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगञ्जले पर्साको पोखरिया नगरपालिकास्थित शिवमन्दिरमा विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा पूर्व श्री ५ मुमावडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको तस्बिरमा माल्यार्पण गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु तथा सुख–शान्तिको कामना गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले मुमावडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९९औँ शुभ जन्मोत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँको योगदान, त्याग र राष्ट्रप्रतिको समर्पणलाई स्मरण गर्नुपर्ने बताउनुभयो।
अध्यक्ष शाहले नेपालको राष्ट्रियता, धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षणमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले देशको इतिहास, परम्परा र संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र देशप्रेमको भावना बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल राष्ट्रवाद संघका जिल्ला अध्यक्ष संगिता देवी शाह, पवन साह, उमाशंकर प्रसाद कलवार, पृथ्वी झा, सावित्री सिलवाल, राधाकृष्ण प्रसाद चौहान, हरिन्द्र राउत, राजेन्द्र पाल, विष्णु कुमार दास लगायतको सहभागिता रहेको थियो।
सो अवसरमा सहभागीहरूले पूर्व श्री ५ मुमावडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको सुस्वास्थ्य, दीर्घायु तथा सुखमय जीवनको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए।









