महतिनिया माईको एलानी जग्गा जोगाउन भवानीपुरवासी सडकमा, २०० बढीको सहभागिता

 

हरिकिशोर शर्मा / साउन / २५ जिराभवानी पर्सा ।

पर्साको जिराभवानी गाउँपालिका–४ भवानीपुरमा रहेको महतिनिया माईको एलानी तथा सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने माग गर्दै स्थानीयवासीले बृहत् प्रदर्शन गरेका छन्। प्रस्तावित महतिनिया माई सामुदायिक वन उपभोक्ता महासंघ नेपालको अगुवाइमा निकालिएको जुलुसमा करिब २०० जना स्थानीयको सहभागिता रहेको आयोजकले जनाएको छ।

सार्वजनिक जग्गामा गरिएको वृक्षारोपण नष्ट गर्ने तथा जग्गा अतिक्रमण गर्ने–गराउने गतिविधि रोक्नुपर्ने माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले एलानी सार्वजनिक जग्गा कुनै व्यक्तिको नाममा गर्न नहुने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

भवानीपुरबाट सुरु भएको जुलुस सुपौली बजार, हुलाकी सडक हुँदै नौकाटोला चोकबाट जिराभवानी गाउँपालिका कार्यालय सेढवा पुगेको थियो। प्रदर्शनका क्रममा स्थानीयवासीले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि तत्काल पहल गर्न माग गरेका थिए।

जुलुसपछि स्थानीयवासीका तर्फबाट कुनाल महतो थारुले जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा एलानी सार्वजनिक जग्गाको संरक्षण, वृक्षारोपणको सुरक्षा तथा जग्गा अतिक्रमणसम्बन्धी विषयमा छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरिएको छ।

स्थानीयवासीले सार्वजनिक सम्पत्ति कुनै पनि व्यक्ति वा समूहको स्वार्थमा प्रयोग हुन नदिन गाउँपालिका तथा सम्बन्धित सरकारी निकायले स्पष्ट पहल गर्नुपर्ने बताएका छन्। प्रदर्शनका कारण भवानीपुरदेखि सेढवासम्म केही समय स्थानीय क्षेत्रमा चहलपहलसमेत बढेको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित