हरिकिशोर शर्मा / साउन २५ जिराभवानी पर्सा ।
ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री सिर्जनशील युवा समाजको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताका लागि टोली दर्ता गर्ने समय भदौ ५ गते दिउँसो १२ बजेसम्म तोकिएको आयोजकले जनाएको छ । दर्ताका लागि रु. ३ हजार शुल्क निर्धारण गरिएको छ, जसमा रु. ५ सय धरौटी रकमसमेत समावेश छ । प्रतियोगिताका खेलहरू भदौ ६ गतेदेखि सुरु हुनेछन् ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले नगद रु. ३० हजारसहित शिल्ड र मेडल प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले रु. १५ हजार नगदसहित शिल्ड र मेडल पाउनेछ । व्यक्तिगततर्फ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका क्रममा खेलको अनुशासन र निष्पक्षतालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । रेफ्रीको निर्णय अन्तिम मानिनेछ भने सबै खेल निर्धारित समयमै सञ्चालन गरिनेछन् । सहभागी टोलीका खेलाडी खेल सुरु हुनुभन्दा १५ मिनेटअघि नै मैदानमा उपस्थित भइसक्नुपर्नेछ । खेलाडीले अनिवार्य रूपमा जर्सी लगाउनुपर्ने नियमसमेत राखिएको छ ।
खेलका क्रममा खेलाडी घाइते भएको अवस्थामा त्यसलाई आधार बनाएर टोलीलाई कुनै अतिरिक्त सुविधा वा छुट नदिइने आयोजकले जनाएको छ । अनुशासन उल्लङ्घन गर्ने खेलाडीलाई पहेंलो कार्डका लागि रु. १५० र रातो कार्डका लागि रु. ३०० जरिवाना तोकिएको छ । जरिवाना रकम टोलीले बुझाएको धरौटीबाट कट्टा गरिनेछ । प्रतियोगितामा सहभागी हुन चाहने टोली तथा प्रतियोगितासम्बन्धी थप जानकारी लिन इच्छुकले निर्जल सिस्तान (९८४७९७७४५१), विनोद भुलान (९७०१६९४१७७) वा प्रज्ज्वल थिङ (९८४४५४२३०९) सँग सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ ।








