सशस्त्र प्रहरीको अगुवाइमा वीरगञ्ज–१ छपकैयामा २०० बिरुवा रोपियो

 

वीरगञ्ज, साउन २३ — सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साको आयोजना तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा वीरगञ्ज महानगरपालिका–१, छपकैयास्थित बबिता पराजुली आधारभूत विद्यालय तथा छठघाट परिसरमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका २०० वटा बिरुवा रोपिएको हो।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरू, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जयप्रकाश खेतानले वृक्षारोपण वातावरण संरक्षणका लागि महत्वपूर्ण अभियान भएको बताउँदै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले बिरुवा रोपेर मात्र अभियान पूरा नहुने भएकाले त्यसलाई हुर्काउने र संरक्षण गर्ने जिम्मेवारी पनि सबैको साझा दायित्व भएको बताउनुभयो।

उहाँले वातावरणीय सन्तुलन कायम गर्न तथा भावी पुस्तालाई स्वच्छ र हराभरा वातावरण हस्तान्तरण गर्न यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले वृक्षारोपण केवल एक दिनको अभियान नभई भावी पुस्तालाई स्वच्छ, हराभरा र स्वस्थ वातावरण हस्तान्तरण गर्ने साझा जिम्मेवारी भएको बताएका थिए। सहभागीहरूले रोपिएका बिरुवाको नियमित संरक्षण तथा हेरचाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साले वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित