साउने पहिलो सोमबार भाठा धाममा लाखौँ श्रद्धालु आउने अनुमान, दुधेश्वरनाथ महादेव मन्दिरमा सुरक्षा र व्यवस्थापन कडा

 

नवल किशोर राउत | पर्सा

पर्साको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य दुधेश्वरनाथ महादेव भाठा धाममा जारी साउने महाकुम्भ मेलाले यतिबेला विशेष रौनक पाएको छ। साउन महिनामा भगवान् शिवको दर्शन, जलाभिषेक तथा पूजा–आराधनाका लागि नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालु आउने क्रम तीव्र भएसँगै मन्दिर क्षेत्र भक्तिमय बनेको छ। मेला व्यवस्थापन समितिले साउन १८ गते पर्ने श्रावण महिनाको पहिलो सोमबार लाखौँ श्रद्धालु भाठा धाम पुग्ने अनुमान गर्दै सुरक्षा तथा व्यवस्थापनलाई थप सुदृढ बनाएको जनाएको छ।

शनिबार बिहानैदेखि मन्दिर परिसरमा श्रद्धालुको उल्लेख्य भीड देखिएको थियो। नेपालका विभिन्न जिल्ला तथा सीमावर्ती भारतीय क्षेत्रबाट आएका भक्तजनले भगवान् दुधेश्वरनाथ महादेवको दर्शन, जलाभिषेक र विधिपूर्वक पूजा–अर्चना गरेका थिए। दिनभर मन्दिर परिसर श्रद्धालुको चहलपहलले भरिभराउ बनेको थियो।

समितिका अनुसार आइतबार साँझदेखि नै टाढाटाढाबाट श्रद्धालु आउने क्रम थप बढ्ने अपेक्षा गरिएको छ। साउने सोमबार भगवान् शिवको आराधनाका लागि विशेष महत्त्वको दिन मानिने भएकाले पहिलो सोमबार अन्य दिनको तुलनामा अत्यधिक भीड हुने अनुमान गरिएको छ।

साउन १० गतेदेखि भाठा धाम क्षेत्रमा आवतजावत खुला गरिएको थियो भने साउन १४ गतेदेखि औपचारिक रूपमा एकमहिने साउने महाकुम्भ मेला सुरु भएको हो। मेलालाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था, खानेपानी, सरसफाइ, शौचालय तथा अन्य आधारभूत सेवाको व्यवस्था गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ। सम्भावित भीडलाई मध्यनजर गर्दै भीड व्यवस्थापन, सवारी आवतजावत तथा आपत्कालीन सेवासमेत प्रभावकारी बनाइएको छ।

मेला अवधिभर चरभैयादेखि भाठा धामसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको छ। पहिलो सोमबार अत्यधिक भीड हुने अनुमानका कारण सुरक्षाकर्मीको परिचालन बढाउनुका साथै सुरक्षा निगरानीलाई पनि थप कडा बनाइने समितिले जनाएको छ।

धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित भाठा धाम प्राकृतिक सौन्दर्यका कारण पनि उत्तिकै आकर्षक मानिन्छ। हरियाली वातावरणबीच अवस्थित दुधेश्वरनाथ महादेव मन्दिरमा प्रत्येक वर्ष लाग्ने साउने मेलाले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन महत्त्वलाई थप उचाइमा पुर्‍याउँदै आएको छ।

वरिष्ठ पत्रकार प्रमोद यादवका अनुसार गत वर्षको तुलनामा यस वर्ष भाठा धाम पुग्ने सडक, शौचालय तथा अन्य आधारभूत व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको छ। तर, पर्याप्त प्रचार–प्रसार, थप पूर्वाधार निर्माण तथा संघ, प्रदेश र स्थानीय सरकारको समन्वित लगानी हुन सके भाठा धामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने उनले बताए।

उनका अनुसार नेपालसँगै भारतबाट पनि ठूलो संख्यामा श्रद्धालु आउने भएकाले भाठा धामलाई धार्मिक पर्यटनसँग जोडेर योजनाबद्ध रूपमा विकास गर्न आवश्यक छ। यसबाट स्थानीय पर्यटन, व्यापार, रोजगारी तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।

साउने महाकुम्भ मेला अघि बढ्दै जाँदा श्रद्धालुको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। विशेषगरी साउने प्रत्येक सोमबार भगवान् दुधेश्वरनाथ महादेवको दर्शन तथा जलाभिषेकका लागि ठूलो संख्यामा भक्तजन पुग्ने भएकाले मेला व्यवस्थापन समितिले सबै श्रद्धालुलाई सुरक्षा मापदण्ड पालना गर्दै व्यवस्थित रूपमा दर्शन गर्न आग्रह गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित