रौतहट, १६ साउन ।अशोक यादब — विश्व हिन्दु संघ रौतहटले सुनसरीसहित विभिन्न जिल्लामा भएका घटनाप्रति असन्तुष्टि जनाउँदै शनिबार रौतहटको दुर्गा भगवती गाउँपालिकामा खबरदारी र्याली तथा प्रदर्शन गरेको छ।
संघका जिल्ला सचिव धर्मेन्द्र महतो, हिन्दु अभियन्ता आदर्श झा र विकास महतोको नेतृत्वमा आयोजित र्यालीमा हिन्दु युवा, साधुसन्त तथा स्थानीयवासीको सहभागिता रहेको आयोजकले जनाएको छ। पिपरा बजारबाट सुरु भएको र्याली मत्सरी र पचरुखी हुँदै पुनः पिपरा बजारस्थित दुर्गा मन्दिर अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।
प्रदर्शनका क्रममा केही समय सडकमा टायर बालिएको थियो। सहभागीहरूले गृहमन्त्रीको राजीनामा, मदरसाको छानबिन, एउटै शिक्षा प्रणाली लागू गर्नुपर्ने, मुस्लिम आयोग खारेज गर्नुपर्ने तथा अन्य राजनीतिक मागसम्बन्धी नाराबाजी गरेका थिए।
कोणसभालाई सम्बोधन गर्दै आयोजक पक्षका वक्ताहरूले हालका घटनामा दोषीमाथि निष्पक्ष कारबाही हुनुपर्ने माग राख्दै सुरक्षाकर्मीले बल प्रयोग गरेको आरोप लगाए। उनीहरूले आफूहरू कुनै धर्म विशेषको विरोधमा नभई न्याय र निष्पक्ष छानबिनको पक्षमा रहेको दाबी पनि गरेका थिए। साथै, उनीहरूले राज्यलाई संयम अपनाउन र परिस्थितिलाई थप जटिल बन्न नदिन आग्रह गरेका थिए।
प्रदर्शनका क्रममा टायर बाल्ने विषयलाई लिएर केहीबेर सुरक्षाकर्मी र प्रदर्शनकारीबीच सामान्य तनाव उत्पन्न भए पनि अवस्था छिट्टै सामान्य बनेको स्थानीय स्रोतले जनाएको छ।
उक्त घटनाबारे सुरक्षा निकाय वा सम्बन्धित सरकारी पक्षको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।









