काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराइदिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, ललितपुर (मालपोत) का तीन नायब सुब्बा (नासु) सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट घुसस्वरूप लिएको भनिएको तीन लाख रुपैयाँ बरामद भएको आयोगले जनाएको छ।
पक्राउ पर्नेहरूमा भूमि प्रशासन कार्यालय, ललितपुरका नासु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर रहेका छन्। उनीहरूसँगै लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाल पनि पक्राउ परेका छन्।
अख्तियारका अनुसार जग्गाको बकसपत्र गराइदिने प्रक्रियामा अनावश्यक दुःख, हैरानी तथा ढिलासुस्ती गराई सेवाग्राहीसँग घुस रकम मागेको सूचनाका आधारमा विशेष निगरानी राखिएको थियो। सोही क्रममा उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो।
आयोगले पक्राउ परेकाहरूको साथबाट घुस रकमबाहेक स्रोत नखुलेको थप २५ हजार रुपैयाँ समेत बरामद भएको जनाएको छ। उनीहरूलाई ललितपुरस्थित एक होटलबाट नियन्त्रणमा लिइएको हो।
अख्तियारले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। आयोगले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन यस्ता गतिविधिमाथि कडा निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।









