वीरगंज/१४ साउन
पुर्व नवयुवराज हृदयेन्द्र वीर विक्रम शाहदेवको २५औँ जन्मजयन्तीको अवसरमा नेपाल राष्ट्रवाद सङ्घको आयोजनामा वीरगंज महानगरपालिका–१७ अलौंमा परिक्रमा तथा कोणसभा सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत श्री द्वार देवी विद्यालयबाट सुरु भएको परिक्रमा आईसीपी गेटसम्म पुगेको थियो। परिक्रमापछि आयोजित कोणसभामा सहभागीहरूले नवयुवराज हृदयेन्द्र वीर विक्रम शाहको सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको कामना गर्दै जन्मजयन्तीको शुभकामना व्यक्त गरेका थिए। साथै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा राष्ट्रिय एकताको पक्षमा ऐक्यबद्धता जनाएका थिए।

कार्यक्रमका अध्यक्ष तथा नेपाल राष्ट्रवाद सङ्घका केन्द्रीय अध्यक्ष जनकलाल शाहले नवयुवराज हृदयेन्द्र वीर विक्रम शाहको २५औँ जन्मजयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा उज्ज्वल भविष्यको कामना गरे। उनले नेपालको राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान, धर्म, संस्कृति तथा मौलिक पहिचानको संरक्षणमा सबै नागरिक एकजुट हुनुपर्ने बताए। साथै राष्ट्रप्रेम, सामाजिक सद्भाव र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै युवापुस्ताले देश र समाजप्रति आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।
कोणसभामा सहभागीहरूले पनि नवयुवराज हृदयेन्द्र वीर विक्रम शाहको जन्मजयन्तीको शुभकामना व्यक्त गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु र सफल जीवनको कामना गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमले राष्ट्रप्रेम, राष्ट्रिय चेतना, सामाजिक सद्भाव तथा नेपाली मौलिक संस्कृतिको संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
कार्यक्रममा उमाशंकर साह, सङ्गीता साह, राजेन्द्र पाल, विष्णु दास, पृथ्वी झा, अशोक मण्डल, राधाकृष्ण चौहान, चुलाइ मियाँ, वकिल मियाँ, भदन ठाकुर, खुबलाल साह, निरोधा मियाँलगायत स्थानीयवासी, नेपाल राष्ट्रवाद सङ्घका पदाधिकारी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
नेपाल राष्ट्रवाद सङ्घका केन्द्रीय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अन्त्यमा सहभागीहरूले नवयुवराज हृदयेन्द्र वीर विक्रम शाहप्रति जन्मजयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रको समृद्धि, स्थायित्व र नेपाली जनताको सुख, शान्ति तथा उन्नतिको कामना गरेका थिए।









