रेतकलामा विश्व कीर्तिमान : चम्पारणका मधुरेन्द्र कुमार फोर्ब्स बुक अफ वर्ल्ड रेकर्डमा सूचीकृत, नीतिश कुमारद्वारा सम्मानित

 

मोतिहारी/   बिहारको चम्पारणका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त रेत कलाकार (स्यान्ड आर्टिस्ट) मधुरेन्द्र कुमारको नाम फोर्ब्स बुक अफ वर्ल्ड रेकर्ड्स मा दर्ता भएको छ। रेतकलामार्फत जनचेतनामूलक सन्देश प्रवाह गर्दै विश्वस्तरमा विशिष्ट योगदान पुर्‍याएको भन्दै उनलाई बिहारका पूर्वमुख्यमन्त्री तथा जनता दल (युनाइटेड) का राष्ट्रिय अध्यक्ष एवं राज्यसभा सदस्य नीतिश कुमार ले सम्मान गरेका छन्।

पटनास्थित ७, सर्कुलर रोडस्थित निवासमा आयोजित विशेष समारोहमा नीतिश कुमारले मधुरेन्द्र कुमारलाई स्मृतिचिन्ह, पदक तथा फोर्ब्स बुक अफ वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। सो अवसरमा उनले मधुरेन्द्र कुमार बिहारका अन्तर्राष्ट्रिय पहिचान बनाएका पहिलो रेत कलाकार भएको उल्लेख गर्दै सरकारका जनकल्याणकारी योजनाबारे कला माध्यमबाट जनचेतना फैलाउन उनले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए।

फोर्ब्स बुक अफ वर्ल्ड रेकर्ड्सका अन्तर्राष्ट्रिय सचिव टम वासिङ्टनका अनुसार मधुरेन्द्र कुमारले सन् २००५ देखि २०२६ सम्म नीतिश कुमारका विभिन्न राजनीतिक तथा प्रशासनिक यात्रा—न्याय यात्रा, निश्चय यात्रा, समाधान यात्रा, प्रगति यात्रा र समृद्धि यात्रालगायतका कार्यक्रमसँग सम्बन्धित १०० भन्दा बढी रेतकलाकृति निर्माण गरी जनचेतना फैलाएका थिए। यही योगदानको आधारमा प्रमाणपत्र नम्बर FBWR00239 अन्तर्गत उनको नाम विश्व रेकर्डमा दर्ता गरिएको हो।

मधुरेन्द्र कुमारले बिहारका सबै ३८ जिल्लामा जिल्ला प्रशासनको समन्वयमा आयोजित मुख्यमन्त्रीका कार्यक्रमहरूमा विशाल र जटिल रेतकलामार्फत सरकारी योजनाबारे सर्वसाधारणलाई जानकारी गराउँदै सकारात्मक सामाजिक सन्देश प्रवाह गर्दै आएका छन्।

उनले हालसम्म ५ हजारभन्दा बढी रेत तथा कोइलाको खरानीबाट मूर्तिकला, ४ हजारभन्दा बढी ढुङ्गा, धातु तथा ग्रेनाइटका मूर्तिकला, २० हजारभन्दा बढी पातमा कलाकृति, ३ हजारभन्दा बढी फलफूल तथा तरकारीमा नक्काशी, २ हजारभन्दा बढी प्लाइउड तथा थर्माकोल कलाकृति, ५ सयभन्दा बढी अन्नका दानाबाट कलाकृति तथा एक हजारभन्दा बढी पुनर्चक्रणयोग्य सामग्रीबाट कलाकृति निर्माण गरिसकेका छन्। उनका सिर्जनाले नशामुक्ति, सरसफाइ तथा सामाजिक जागरणका सन्देश प्रवाह गर्दै आएका छन्।

उनले हालसम्म २५ भन्दा बढी देशमा करिब ७५ पटक भारतको प्रतिनिधित्व गर्दै ५० भन्दा बढी अन्तर्राष्ट्रिय तथा १०० भन्दा बढी राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्। साथै उनले १२ भन्दा बढी विश्व कीर्तिमान पनि कायम गरेका छन्। हालै उनलाई अमेरिकाको एआईयू (AIU), हलिउड, क्यालिफोर्नियाले रेतकलामा उत्कृष्ट योगदानका लागि मानार्थ विद्यावारिधि (Honorary Doctor of Philosophy in Sand Art) प्रदान गरेको थियो।

कार्यक्रममा राज्यसभा सांसद सञ्जय कुमार झा, बिहार विधान परिषद्का उपनेता ललन कुमार सर्राफ तथा बिहार सरकारका मन्त्री श्रवण कुमारले मधुरेन्द्र कुमारको उपलब्धिलाई बिहारका लागि गौरवको विषय भएको बताउँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित