वीरगंज/१२ साउन
वीरगंजस्थित नारायणी अस्पतालका ६५ भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले पेसागत सम्मान, सुरक्षा र कानुनी संरक्षणको प्रत्याभूति नभएसम्म नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न नसक्ने जनाउँदै सामूहिक राजीनामा दिएका छन्।
चिकित्सकहरूले साउन १२ गते दर्ता नं. २२६ मार्फत निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टसमक्ष संयुक्त रूपमा राजीनामा पत्र बुझाएका हुन्। उनीहरूले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पटक–पटक आक्रमण, दुर्व्यवहार र असुरक्षाको वातावरण सिर्जना भएको भन्दै आन्दोलनको स्वरूपमा सामूहिक राजीनामा दिएको जनाएका छन्।
राजीनामा पत्रमा गत साउन ९ गते अस्पतालको आकस्मिक (इमर्जेन्सी) विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्समाथि हातपात, अभद्र व्यवहार तथा अस्पतालको भौतिक संरचनामा तोडफोड गरिएको उल्लेख गरिएको छ। उक्त घटनापछि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न प्रमुख जिल्ला अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टको उपस्थितिमा छलफल भइरहेका बेला पनि स्थानीय प्रशासन र प्रहरीको व्यवहारप्रति चिकित्सकहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
चिकित्सकहरूले स्थानीय प्रशासन र प्रहरी नेतृत्वकै निर्देशनमा चिकित्सकहरूमाथि कुटपिट, दुर्व्यवहार तथा धरपकडसमेत गरिएको आरोप लगाएका छन्। उनीहरूले पेसागत सुरक्षा, सम्मान र कानुनी संरक्षणको सुनिश्चितता नभएसम्म नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारेका छन्।
सामूहिक राजीनामा दिनेमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. उदय नारायण सिंह, डा. निरज कुमार सिंह, डा. विकास साह, डा. अरुण कुमार प्रसाद, डा. शैलेश ठाकुर, डा. सुनन्दा प्रसाद चौधरी, डा. राकेश तिवारीलगायत ६५ भन्दा बढी प्रमुख कन्सल्टेन्ट तथा मेडिकल अधिकृत रहेका छन्। उनीहरूको राजीनामा साउन १२ गतेदेखि लागू हुने उल्लेख गरिएको छ।
चिकित्सकहरूको सामूहिक राजीनामासँगै नारायणी अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित हुने सम्भावना बढेको छ। साथै, स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, कार्यस्थलमा सम्मान र कानुनी संरक्षणको विषय पुनः राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ।








