‘सही मार्गदर्शनले विद्यार्थीको भविष्य उज्ज्वल बन्छ’ : सशस्त्र प्रहरी उपरीक्षक मोहन बस्नेत

 

अभिलाष गुप्ता

वीरगंज, ८ साउन

वीरगंज पब्लिक कलेज (बीपीसी)ले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै दुईदिने स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। वीरगञ्जस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा नवप्रवेशी विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नम्बर १३ गणका सशस्त्र प्रहरी उपरीक्षक मोहन बस्नेत रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा डा. अन्जय मिश्रा, कलेजका पूर्वविद्यार्थी एवं चार्टर्ड एकाउन्टेन्ट (सीए) मौजेलाल सहनी, कलेजका शैक्षिक निर्देशक डा. बिनय ठाकुर, प्राचार्य डा. बासु कर्ण, सहायक क्याम्पस प्रमुख डा. अर्बिन्द श्रेष्ठ, कलेजका ब्रान्ड एम्बासडर देवेश गुप्तालगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मोहन बस्नेतले कक्षा ११ विद्यार्थीको भविष्य निर्माणको महत्वपूर्ण आधार भएकाले सुरुदेखि नै सही लक्ष्य, अनुशासन र निरन्तर मेहनतलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीलाई केवल परीक्षामुखी नभई सीप, नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वमा समेत सक्षम बनाउने वातावरण बीपीसीले प्रदान गरिरहेको उल्लेख गर्नुभयो।

कलेजका कार्यकारी निर्देशक युगल किशोर प्रसाद शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले बीपीसीले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभई व्यवहारिक सीप, नेतृत्व क्षमता, नैतिक मूल्य तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने वातावरण प्रदान गर्दै आएको बताउनुभयो। विद्यार्थीको सर्वाङ्गीण विकास नै कलेजको मुख्य उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा कलेजका शैक्षिक गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराइनुका साथै नवप्रवेशी विद्यार्थीलाई बीपीसी परिवारमा औपचारिक रूपमा स्वागत गरिएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रम प्रेरणादायी, जानकारीमूलक तथा उत्साहवर्द्धक भएको प्रतिक्रिया दिएका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित