त्रि.वि. दिवसमा वीरगंज नर्सिङ क्याम्पसको अवस्थाबारे सांसदद्वयको चासो, शिक्षण अस्पताल र पूर्वाधार विकासका लागि पहल गर्ने प्रतिबद्धता

 

वीरगंज/ ७ साउ

त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) को ६७औँ वार्षिकोत्सव (त्रि.वि. दिवस) को अवसरमा पर्सा निर्वाचन क्षेत्र नं. २ र ३ का प्रतिनिधिसभा सदस्यहरूले वीरगंजस्थित वीरगंज नर्सिङ क्याम्पस (बिर्ता) को स्थलगत अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। क्याम्पसको वर्तमान अवस्था, शैक्षिक गतिविधि, भौतिक पूर्वाधार तथा भावी विकासका विषयमा केन्द्रित कार्यक्रममा क्याम्पसका पदाधिकारी, पूर्वविद्यार्थी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा क्याम्पसका पहिलो ब्याचका विद्यार्थीसमेत रहनुभएका वरिष्ठ चिकित्सक डा. आर.पी. खेतानले करिब पाँच दशक लामो इतिहास बोकेको वीरगंज नर्सिङ क्याम्पसले हालसम्म आफ्नै शिक्षण अस्पताल स्थापना गर्न नसक्नु दुःखद भएको बताउनुभयो। नर्सिङ शिक्षा उत्पादनमा ऐतिहासिक योगदान पुर्‍याएको संस्थाले आवश्यक पूर्वाधार र शिक्षण अस्पतालको अभावका कारण अपेक्षित रूपमा विकास गर्न नसकेको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभयो।

क्याम्पस प्रमुख श्रीमती कल्पना पौडेलले करिब सात बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसका अधिकांश भवन जीर्ण बन्दै गएको जानकारी दिँदै मर्मतसम्भार तथा भौतिक पूर्वाधार विस्तारका लागि पर्याप्त बजेटको अभाव हुँदा शैक्षिक वातावरणसमेत प्रभावित भइरहेको बताउनुभयो। ऐतिहासिक महत्त्व बोकेको यस क्याम्पसको संरक्षण, आधुनिकीकरण तथा आवश्यक संरचना निर्माणका लागि सरकारले विशेष प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माननीय सुशील साह कानु तथा पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य माननीय रामाकान्त चौरसियाले वीरगञ्ज नर्सिङ क्याम्पसको समग्र विकासका लागि संघीय सरकारसमक्ष आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँहरूले क्याम्पसको भौतिक पूर्वाधार सुधार, आवश्यक बजेट व्यवस्थापन तथा बहुप्रतीक्षित शिक्षण अस्पताल निर्माणको विषयलाई सम्बन्धित मन्त्रालय र निकायमा प्रभावकारी रूपमा उठाउने आश्वासन दिनुभयो।

अन्तरक्रियापछि सांसदद्वयले क्याम्पसका विभिन्न भवन, कक्षाकोठा, प्रयोगशाला तथा अन्य शैक्षिक संरचनाको स्थलगत अवलोकन गर्नुभएको थियो। अवलोकनका क्रममा उहाँहरूले देशकै नर्सिङ शिक्षाको इतिहाससँग जोडिएको यस क्याम्पसको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षण र विकासका लागि संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय गरी आवश्यक आर्थिक तथा नीतिगत सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो।

कार्यक्रममा वीरगंज युवा समाजका अमित गुप्ता, सामाजिक अभियन्ता मार्टिन मोक्तान, सञ्चारकर्मी मुकेश सिंह, क्याम्पसका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रमले वीरगंज नर्सिङ क्याम्पसको ऐतिहासिक महत्त्व, वर्तमान चुनौती तथा यसको दीर्घकालीन विकासका लागि आवश्यक सरकारी सहयोगको आवश्यकता पुनः उजागर गरेको सहभागीहरूले बताएका छन्। शिक्षण अस्पताल स्थापना, जीर्ण भवनहरूको पुनर्निर्माण, आधुनिक पूर्वाधार विकास तथा पर्याप्त बजेट व्यवस्थापन हुन सकेमा क्याम्पसले अझ गुणस्तरीय र दक्ष नर्सिङ जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित