डिके साह/रौतहट
रौतहटको कटहरिया नगरपालिका–५ निवासी स्वर्गीय युवा पत्रकार रविन्द्र प्रजापतिको प्रथम स्मृति दिवस आइतबार कटहरियास्थित विवाह भवनमा श्रद्धाञ्जली तथा न्यायको मागसहित मनाइएको छ। कार्यक्रममा पत्रकार, जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रजापतिको तस्वीरमा माल्यार्पण, दीप प्रज्वलन र एक मिनेट मौनधारण गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरी आत्महत्याका लागि दुरुत्साहन गर्ने दोषीलाई कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिन राज्यसँग माग गरेका छन्। वक्ताहरूले रविन्द्र प्रजापति निर्भीक, इमानदार र जनसरोकारका विषय उठाउने युवा पत्रकार रहेको स्मरण गर्दै पत्रकारको सुरक्षा, मानसिक स्वास्थ्य र स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए। कार्यक्रममा विभिन्न राजनीतिक दल, पत्रकार महासंघसँग आबद्ध सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिले सत्य लुकाउने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिँदै न्याय नपाएसम्म आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका थिए।









