अभिलाष गुप्ता
वीरगंज/३ साउन
श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले चौथो विशाल रथयात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ लाई ऐतिहासिक रूपमा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति, संघ–संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वयंसेवक तथा श्रद्धालु भक्तजनप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
ऐतिहासिक एवं धार्मिक–पर्यटकीय नगरी वीरगंजको गौरव तथा सम्पूर्ण मधेश प्रदेशकै जनआस्थाको प्रमुख केन्द्र श्री गहवा माई मन्दिरको गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजित ‘श्री गहवा माई चौथो विशाल रथयात्रा तथा पावन धार्मिक महोत्सव–२०८३’ अन्तर्गतका सम्पूर्ण कार्यक्रम लाखौँ श्रद्धालु भक्तजनको उत्साहपूर्ण सहभागिताबीच भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न भएको समितिले जनाएको छ।
समितिका अनुसार गत असार ३२ गते प्रतिकूल मौसमका कारण पूर्वनिर्धारित हेलिकप्टर अवतरण हुन नसके पनि भक्तजनहरूको उत्साहमा कुनै कमी आएन। सोही दिन सम्पन्न चौथो विशाल रथयात्रा, साँझ आयोजित भव्य भजन सन्ध्या तथा साउन १ गते सम्पन्न ५६ भोग महापूजा र विशाल महाप्रसाद भण्डारा अनुशासित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएका थिए। महाप्रसाद भण्डारामा लाखौँ श्रद्धालुले प्रसाद ग्रहण गरेका थिए।
यस ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महोत्सवलाई सफल बनाउन अहोरात्र खटिएका सम्पूर्ण महानुभावप्रति समिति कृतज्ञ रहेको जनाएको छ। विशेषगरी रथयात्रा मार्ग व्यवस्थापन तथा सडक सहज बनाउन सहयोग गर्ने सडक डिभिजन कार्यालय, शान्ति–सुरक्षा र समन्वयमा सक्रिय जिल्ला प्रशासन कार्यालय पर्सा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा वीरगंज महानगरपालिकाप्रति समितिले विशेष धन्यवाद व्यक्त गरेको छ।
त्यसैगरी, महोत्सवको देश–विदेशमा प्रचार–प्रसार, समाचार सम्प्रेषण तथा प्रत्यक्ष प्रसारणमार्फत कार्यक्रमलाई व्यापक रूपमा जनसमक्ष पुर्याउन योगदान दिने नेपाल पत्रकार महासंघ पर्सा आबद्ध पत्रकार, विभिन्न सञ्चारमाध्यम, डिजिटल मिडियाकर्मी तथा राष्ट्रिय एवं स्थानीय सञ्चारगृहहरूप्रति पनि समितिले आभार प्रकट गरेको छ।
रथयात्रा मार्गमा श्रद्धालुहरूका लागि खानेपानी, शर्बत, प्राथमिक उपचारलगायत सेवामूलक कार्य सञ्चालन गर्ने सामाजिक, धार्मिक, जातीय, साहित्यिक तथा व्यावसायिक संघ–संस्था, बुद्धिजीवी, भद्रभलाद्मी, स्वयंसेवक तथा मन्दिर परिसरलाई कलश, तोरण र दीप प्रज्वलनमार्फत आकर्षक रूपमा सजाएर माताको स्वागत गर्ने सम्पूर्ण वीरगञ्जवासीप्रति पनि समितिले विशेष धन्यवाद ज्ञापन गरेको छ।
समितिका अध्यक्ष श्याम पोखरेल र सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता)द्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा सबै पक्षको निःस्वार्थ सहयोग, सेवाभाव, सामाजिक सद्भाव र ऐक्यबद्धताका कारण मात्रै महोत्सवलाई ऐतिहासिक रूपमा सम्पन्न गर्न सम्भव भएको उल्लेख गरिएको छ।
विज्ञप्तिको अन्त्यमा देश तथा विदेशबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, समर्थन र सद्भाव व्यक्त गर्ने सम्पूर्ण श्रद्धालु भक्तजनप्रति पुनः हार्दिक आभार व्यक्त गर्दै माता श्री गहवा माईको असीम कृपा र आशीर्वाद सबैमा सदैव कायम रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।









