महिला उद्यमशीलताको सशक्त मञ्च बन्यो विमेन्स क्रिएशन्स क्लबको २२औँ समर फेयर

 

अभिलाष गुप्ता

वीरगंज, साउन २

महिला उद्यमशीलताको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास र स्थानीय उत्पादनको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले विमेन्स क्रिएशन्स क्लबद्वारा आयोजित २२औँ समर फेयर प्रदर्शनी शनिबार वीरगंजस्थित होटल सिद्धार्थ दियालोमा भव्य रूपमा सम्पन्न भएको छ।

क्लबकी अध्यक्ष रुपा अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देबिसहाय मीना प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा समाजसेवी जसपाल सिंह, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका उपाध्यक्ष तथा उद्योगपति सञ्जय अग्रवाल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख टीकाराज चौलागाईं, नेपाल–भारत मैत्री संघका पूर्व राष्ट्रिय अध्यक्ष राजकुमार सिन्धी, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ उद्योगपति अशोक वैद्य, प्रभु अस्पतालकी सञ्चालिका डा. लक्ष्मी थापा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी क्लबकी उपाध्यक्षहरू श्वेता गुप्ता, पूजा खत्री, मनीषा सचदेवा, सदस्य नूतन सरावगीसहित क्लबका पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

प्रदर्शनीमा नेपालका विभिन्न जिल्लासँगै भारतबाट आएका उद्यमी तथा व्यवसायीहरूले हस्तकलाका सामग्री, डिजाइनर तथा रेडिमेड पोशाक, गृह सजावटका सामग्री, सौन्दर्य सामग्री, खाद्य परिकार, आभूषण, घरेलु उत्पादनलगायत विविध वस्तुका आकर्षक स्टलहरू प्रदर्शन गरेका थिए। प्रदर्शनी अवलोकन गर्न दिनभर ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देबिसहाय मीनाले यस्ता प्रदर्शनीहरूले महिला उद्यमशीलताको विकाससँगै नेपाल–भारतबीचको व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानमा यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने उनको भनाइ थियो।

क्लबकी सदस्य नूतन सरावगीले विमेन्स क्रिएशन्स क्लबले विगत २२ वर्षदेखि महिला उद्यमीलाई आफ्ना उत्पादन उपभोक्तासम्म पुर्‍याउने प्रभावकारी मञ्च प्रदान गर्दै आएको बताइन्। स्थानीय उत्पादनको प्रवर्द्धन, महिला उद्यमीको क्षमता अभिवृद्धि र आर्थिक सशक्तीकरणका लागि क्लब निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

आयोजकका अनुसार प्रदर्शनीले महिला उद्यमीलाई आफ्नो उत्पादनको बजारीकरण गर्ने अवसर उपलब्ध गराउनुका साथै नेपाल र भारतका व्यवसायीबीच व्यापारिक सहकार्य विस्तार गर्न समेत महत्वपूर्ण भूमिका खेलेको छ। सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न उक्त कार्यक्रम सौहार्दपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित