रौतहट/ प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै रौतहटको मौलापुरमा प्रधानमन्त्री बालेन शाहको पुतला दहन
रौतहट, २५ असार। रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै स्थानीयवासीले विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको पुतला दहन गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकाको बजेट कार्यान्वयन प्रभावित भएको तथा विकास निर्माणका काम ठप्प हुने अवस्था सिर्जना भएको भन्दै आन्दोलनरत पक्षले पुतला दहनसहित प्रदर्शन गरेको हो।
प्रदर्शनका क्रममा सहभागीहरूले “बिजुली–पानीको भुक्तानी गर”, “सम्मानित अदालतको आदेश पालन गर”, “मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर”, “मौलापुरमा तत्काल हाकिम पठाऊँ” तथा “मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन” लगायतका नाराबाजी गरेका थिए।
स्थानीयवासीका अनुसार विकास निर्माणका कार्यलाई तीव्रता दिनुपर्ने समयमा नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइनु गैरजिम्मेवारपूर्ण कदम हो। यसले सेवा प्रवाह, बजेट कार्यान्वयन र विकास योजनामा प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ।
उनीहरूका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुरेशबाबु घिमिरेलाई खटाएको थियो। तर उनले आफ्नो जिम्मेवारी पूरा नगरेपछि मन्त्रालयले उनलाई फिर्ता बोलाएको बताइएको छ। त्यसपछि हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाइएकाले नगरपालिकाको बजेट कार्यान्वयन प्रभावित भएको भन्दै स्थानीयले तत्काल नयाँ अधिकृत पठाउन सरकारसँग माग गरेका छन्।









