कलैया, बारा। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालका केन्द्रीय संयोजक दुर्गा प्रसाई बुधबार बैंक तथा वित्तीय संस्थाबाट पीडित बनेका नागरिकको आवाज बोकेर बारा पुगेका छन्। उनले जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारलाई ज्ञापनपत्र बुझाउँदै सरकारले मागप्रति बेवास्ता गरे देशव्यापी शान्तिपूर्ण आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत बुझाइएको ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाबाट आर्थिक तथा वित्तीय शोषणमा परेका नागरिकलाई न्याय दिलाउन तथा विगतमा सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न माग गरिएको छ।
दुर्गा प्रसाईले अभियान कुनै व्यक्ति, वर्ग वा समुदायको स्वार्थका लागि नभई बैंक तथा वित्तीय संस्थाबाट पीडित नागरिकको न्याय, अधिकार र सम्मानका लागि केन्द्रित रहेको बताएका छन्। विभिन्न सरकारसँग पटक–पटक वार्ता, संवाद तथा लिखित सम्झौता भए पनि ती कार्यान्वयन नभएको उल्लेख गर्दै वर्तमान सरकारले त्यसको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।
ज्ञापनपत्रमा सरकारसँग भएको १२ बुँदे सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न विशेष जोड दिइएको छ। उक्त सम्झौताले पीडित नागरिकको समस्या समाधानका लागि महत्वपूर्ण आधार तयार गरेको भन्दै नयाँ सरकारले त्यसलाई निरन्तरता दिनुपर्ने अभियानको माग छ।
प्रसाईले सरकारले पीडित नागरिकको भावना र संघर्षलाई सम्मान गर्दै छिटो न्यायोचित तथा दीर्घकालीन समाधानको पहल गर्नुपर्ने बताएका छन्। मागलाई निरन्तर बेवास्ता गरिए देशभर शान्तिपूर्ण विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी पनि उनले दिएका छन्।
महाअभियानले पीडित नागरिकको आवाजलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै १२ बुँदे सम्झौताको प्रतिलिपिसहित ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय पठाइएको जनाएको छ।









