अभिलाष गुप्ता
वीरगञ्ज, असार २१
वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पस नयाँ व्यवस्थापन समिति गठन भएपछि पुनः पुरानै शैक्षिक लयमा फर्किँदै गएको विद्यार्थीहरूले बताएका छन्। पछिल्ला केही दिनयता क्याम्पसको अवस्था र व्यवस्थापनलाई लिएर विभिन्न चर्चा भइरहेका बेला नयाँ नेतृत्व आएपछि शिक्षण–सिकाइ, प्रशासनिक व्यवस्थापन तथा समग्र शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन देखिन थालेको विद्यार्थीहरूको भनाइ छ।
एक विद्यार्थीले भने, “अब हाम्रो कलेज पुरानै लयमा फर्किँदै छ। नयाँ व्यवस्थापन आएपछि पढाइ, अनुशासन र समग्र वातावरणमा सुधार भएको महसुस गरेका छौं। यसले विद्यार्थीहरूमा नयाँ उत्साह थपेको छ।”
यसैबीच शनिबार क्याम्पस व्यवस्थापन समितिले विद्यार्थीहरूलाई बनभोज तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन शुभकामनासहित बिदाइ गरेको छ। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्यहरू सुरेश रुङटा, जयप्रकाश खेतानलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा पदाधिकारीहरूले विद्यार्थीहरूलाई सुरक्षित, सफल र सुखद यात्राको शुभकामना व्यक्त गर्दै यस्ता अतिरिक्त गतिविधिले विद्यार्थीबीच आपसी सम्बन्ध, सहकार्य र सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बनभोज कार्यक्रममा सहभागी विद्यार्थीहरू उत्साहित देखिएका थिए। उनीहरूले नयाँ व्यवस्थापन समितिले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीमैत्री वातावरण निर्माण गर्न थालेको भन्दै आगामी दिनमा पनि यस्तै सुधारका प्रयास निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन्।
क्याम्पसमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै शैक्षिक गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने प्रयास तीव्र भएको बताइएको छ। विद्यार्थीहरूको विश्वास र सहभागितालाई केन्द्रमा राखेर अघि बढिरहेको व्यवस्थापनले क्याम्पसलाई पुनः उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।








