हरिकिशोर शर्मा / असार २१ जिराभवानी पर्सा ।
पर्साको ठोरी नाकाबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा चारपांग्रे सवारीसाधनको नेपाल प्रवेशमा सशस्त्र प्रहरीले कडाइ गरेपछि सयौं भारतीय पर्यटक सीमामै रोकिएका छन्। यस कदमले ठोरी क्षेत्रको पर्यटन तथा होटल व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै स्थानीय व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।
स्थानीय होटल, रिसोर्ट तथा पर्यटन व्यवसायीका अनुसार सप्ताहन्त र बिदाका दिन भारतीय पर्यटकको उल्लेख्य आगमन हुने गरेको भए पनि पछिल्ला दिनमा सवारी प्रवेशमा गरिएको कडाइका कारण पर्यटकको संख्या उल्लेख्य रूपमा घटेको छ। यसले होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा अन्य पर्यटनसँग सम्बन्धित व्यवसायमा नकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ।
सशस्त्र प्रहरीका अनुसार बिना आवश्यक अनुमति भारतीय नम्बर प्लेटका सवारीसाधनको आवतजावत नियन्त्रण गर्न तथा सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै ठोरीसहित पर्साका विभिन्न सीमा नाकामा निगरानी कडा पारिएको हो। नियमविपरीत सवारी प्रवेश रोक्ने अभियानलाई निरन्तरता दिइएको सुरक्षा स्रोतले जनाएको छ।
व्यवसायीहरूले भने सुरक्षा व्यवस्थापनसँगै पर्यटन प्रवर्द्धनलाई पनि ध्यानमा राखी सम्बन्धित निकायले व्यवहारिक र समन्वयात्मक समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूले सीमा क्षेत्रमा स्पष्ट र सहज प्रवेश व्यवस्था नहुँदा स्थानीय अर्थतन्त्रमा समेत असर पर्न सक्ने स्थानीयले बताएका छ्न ।








