शैलेश गुप्ता
पोखरिया, २० असार
पर्साको पोखरिया नगरपालिका–४ स्थित शिवाय ब्याँकेट पार्टी प्यालेसमा मनाराम फाउण्डेशनद्वारा आयोजित मसला, तरकारीबाली तथा फलफूल उत्पादक किसानका लागि “असल कृषि अभ्यास सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ। तर कार्यक्रम सञ्चालनको शैली, अवधि, सहभागी छनोट, प्रशिक्षण व्यवस्थापन तथा खर्चको पारदर्शितामाथि गम्भीर प्रश्न उठेका छन्।
आर्थिक वर्ष २०८२/०८३ को असार २० गते आयोजना गरिएको उक्त कार्यक्रम बजेट सकाउने उद्देश्यले हतार–हतार सम्पन्न गरिएको आरोप सहभागी तथा स्थानीय स्रोतहरूले लगाएका छन्। बिहान ८ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम करिब ११ बजे मात्र सुरु भएको थियो। करिब एक घण्टा प्रशिक्षण सञ्चालन गरी १२ बजे सहभागीलाई भोजन गराइएको र करिब १ बजे कार्यक्रम समापन गरिएको थियो। यसरी करिब दुई घण्टामै कार्यक्रम सम्पन्न हुँदा लाखौं रुपैयाँ खर्च भएको दाबीप्रति प्रश्न उठेको छ।
कार्यक्रममा १०० जना सहभागी रहेको दाबी गरिए पनि तीमध्ये तीन दर्जनभन्दा बढी एउटै परिवारका सदस्य रहेको तथा करिब एक दर्जन नेपाल सरकारका कर्मचारी सहभागी भएको आरोप छ। वास्तविक किसानभन्दा आफन्त र कर्मचारीलाई प्राथमिकता दिइएको भन्दै सहभागीहरूले असन्तुष्टि जनाएका छन्।
१०० जना सहभागीका लागि कृषि ज्ञान केन्द्र पर्साबाट एक जना मात्र प्रशिक्षक खटाइएको थियो। यति ठूलो समूहलाई प्रभावकारी रूपमा प्रशिक्षण दिन एक जना प्रशिक्षक मात्र हुनु पर्याप्त नभएको सहभागीहरूको भनाइ छ।
खाजा तथा खानेपानी व्यवस्थाप्रति पनि गुनासो गरिएको छ। सहभागीहरूका अनुसार बिहान पुरी र तरकारी मात्र खाजाका रूपमा दिइएको थियो। त्यस्तै, मिनरल वाटरको व्यवस्था नगरी पार्टी प्यालेसको ट्याङ्कीको पानी पिउन दिइएको आरोप लगाइएको छ।
भोजन व्यवस्थामा पनि कमजोरी देखिएको सहभागीहरूको भनाइ छ। बारा र पर्सामा बर्ड फ्लुको संक्रमणबारे सार्वजनिक सूचना भइरहेका बेला कार्यक्रममा कुखुराको मासु परोसिएको भन्दै सहभागीहरूको स्वास्थ्यप्रति संवेदनशीलता नदेखाइएको आरोप छ। साथै, खाना पर्याप्त नभएकाले केही सहभागीले भोजन नै नगरी घर फर्कनुपरेको दाबी गरिएको छ।कार्यक्रममा सहभागीलाई एउटा कपडाको झोला, एउटा कपी र एउटा पेन वितरण गरिएको थियो।
यूके–० इन्टरनेशनल डेभलपमेन्टको सहकार्यमा आयोजित उक्त कार्यक्रम मनाराम फाउण्डेशनका संस्थापक तथा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ४ का अध्यक्ष लक्ष्मण साह कानु, महासचिव रामप्रसाद घिमिरे, सीईओ सागर केसी, एलिना प्रजापती, कार्यक्रम संयोजक ईश्वर देवकोटा, इन्जिनियर बसन्त पौडेल, चन्द्रनारायण पण्डित, कृषि ज्ञान केन्द्र पर्साका प्रशिक्षक तथा सन्दीप ठाकुरलगायतको उपस्थिति रहेको थियो।
समाचार प्रकाशनअघि कार्यक्रममा उठेका आरोपबारे प्रतिक्रिया लिन पत्रकारले कार्यक्रमस्थलमै मनाराम फाउण्डेशनका पदाधिकारी तथा जिम्मेवार व्यक्तिहरूसँग पटक–पटक कुरा गर्न खोजेका थिए। तर संस्थाका कुनै पनि प्रतिनिधिले आरोपबारे स्पष्ट प्रतिक्रिया दिन चाहेनन्। उनीहरूले विभिन्न बहाना बनाउँदै समय बिताएको र अन्ततः कुनै आधिकारिक धारणा नदिएको पत्रकारको अवलोकन रहेको छ। त्यसैले समाचार उपलब्ध तथ्य, प्रत्यक्ष अवलोकन र सहभागीहरूको भनाइका आधारमा तयार गरिएको हो। संस्थाको आधिकारिक प्रतिक्रिया प्राप्त भएमा त्यसलाई पनि समावेश गरी समाचार अद्यावधिक गरिनेछ।









