ऐलानी जग्गामा तारबारसहित वृक्षारोपण सम्पन्न

हरिकिशोर शर्मा / असार १६ जिराभवानी पर्सा ।

डिभिजन वन कार्यालय पर्साले ‘समृद्धिका लागि वन परियोजना’ अन्तर्गत जिराभवानी गाउँपालिका–४ स्थित ऐलानी जग्गामा तारबारसहित वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। सार्वजनिक तथा ऐलानी जग्गाको संरक्षण, हरियाली विस्तार तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम अन्तर्गत उक्त खाली जग्गामा विभिन्न प्रजातिका बिरुवाहरू रोपेर संरक्षणका लागि सुरक्षित तारबार समेत गरिएको वन कार्यालयले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले वन तथा वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो।

वृक्षारोपणले जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न, जैविक विविधताको संरक्षण गर्न तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

प्रजिअ दाहालले रोपिएका बिरुवाहरूको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको औंल्याउँदै यस्ता पर्यावरणमुखी कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा विशेष जोड दिनुभयो।

डिभिजन वन कार्यालय पर्साले सरकारी तथा ऐलानी जग्गाको संरक्षणसँगै हरियाली प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले वन कार्यालय बिरुवा रोप्ने कार्यमा मात्र सीमित नभई, रोपिएका बिरुवाहरूको नियमित संरक्षण, हेरचाह र उचित व्यवस्थापनमा समेत पूर्ण रूपमा जिम्मेवार र चनाखो रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वन समूहका अध्यक्ष सहरुम राउतको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा बिरुवा रोपेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए।

कार्यक्रममा जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादव, र जिराभवानी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजेश्वर दास थारु लगायतको गरिमामय उपस्थिति रहेको थियो।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक  मोहनबहादुर क्षेत्री, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार वन क्षेत्रको विस्तार, खाली तथा ऐलानी जग्गाको अतिक्रमण नियन्त्रण र संरक्षण, भू–क्षय नियन्त्रण एवं स्वच्छ वातावरण निर्माणका लागि आगामी दिनहरूमा पनि यस्ता वृक्षारोपण तथा संरक्षणमुखी कार्यक्रमहरूलाई निरन्तर अगाडि बढाइनेछ। यस कार्यक्रमले वातावरण संरक्षणप्रति स्थानीय समुदायमा व्यापक जनचेतना अभिवृद्धि गर्नुका साथै वन संरक्षणमा सामुदायिक सहभागिता र अपनत्व बढाउने ठूलो अपेक्षा गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित