समूह १६ को साधारण सभा सम्पन्न, मानव अधिकार संरक्षणमा जोड

 

वीरगंज/असार १३ गते।

वीरगंजस्थित होटल त्रिशलामा समूह १६ को वार्षिक साधारण सभा (एजीएम) शनिबार सम्पन्न भएको छ। सभाले मानव अधिकार संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन तथा नागरिक स्वतन्त्रताको सुदृढीकरणका लागि आगामी वर्ष थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

समूह संयोजक रजनीश झाको अध्यक्षता तथा सचिव सुनील महतोको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ मार्गदर्शक राजेश जैन बोथराले स्वागत मन्तव्य व्यक्त गर्दै समूह १६ ले मानव अधिकार, सामाजिक न्याय तथा नागरिक स्वतन्त्रताको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। कार्यक्रममा बोर्ड सदस्यहरू ममता यादव, संगीता पटेल, कोषाध्यक्ष मन्नु यादव, सुरेश पारेख, विजय गुप्ता लगायत २० जना सदस्यहरूको सहभागिता रहेको थियो।

सभामा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार समूह १६ ले गत वर्ष मानव अधिकार सचेतना, नेतृत्व विकास, सदस्यहरूबीच सहकार्य अभिवृद्धि तथा विभिन्न सामाजिक गतिविधि प्रभावकारी रूपमा सञ्चालन गरेको जनाएको छ। समुदायस्तरमा मानव अधिकारसम्बन्धी जनचेतना फैलाउन र सकारात्मक बहसको वातावरण सिर्जना गर्न समूहले उल्लेखनीय भूमिका खेलेको प्रतिवेदनमा उल्लेख गरिएको थियो।

आगामी वर्ष विद्यालय, कलेज तथा समुदायस्तरमा मानव अधिकार शिक्षा र सचेतनामूलक कार्यक्रमलाई थप विस्तार गरिने जानकारी दिँदै संयोजक झाले विशेषगरी युवापुस्तामा मानव अधिकार, नागरिक स्वतन्त्रता तथा सामाजिक उत्तरदायित्वबारे ज्ञान अभिवृद्धि गर्न विशेष पहल गरिने बताउनुभयो।

सभामा नागरिक स्वतन्त्रताको क्षेत्र (Civil Space), यातना (Torture) तथा हिरासतमा हुने मृत्यु (Custodial Death) जस्ता गम्भीर मानव अधिकारका विषयमा विस्तृत छलफल भएको थियो। यस्ता घटनाको रोकथाम, पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्ने उपाय तथा मानव अधिकार संरक्षणका लागि प्रभावकारी रूपमा आवाज उठाउने विषयमा सदस्यहरूले धारणा राखेका थिए। साथै, सचेतना अभियान, संवाद, अनुसन्धान तथा वकालतमार्फत मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहने प्रतिबद्धता जनाइएको थियो।

यसै अवसरमा समूह १६ प्रति पुर्‍याउनुभएको योगदानको कदर गर्दै पत्रकार अभिलाष कुमार गुप्तालाई ‘टोकन अफ लभ’ प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले मानव अधिकार संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन तथा नागरिक स्वतन्त्रताको सुदृढीकरणका लागि आगामी वर्ष अझ प्रभावकारी ढंगले कार्य गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्ययोजना समेत पारित गरेका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित