पोखरिया नगरपालिकाको एघारौँ नगरसभामा ४८ करोड ५१ लाख ८० हजारको बजेट प्रस्तुत, उपप्रमुखसहित केही जनप्रतिनिधि अनुपस्थित

 

हरिकिशोर शर्मा / १० जिराभवानी पर्सा

पर्साको पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ५१ लाख ८० हजार रुपैयाँ बराबरको नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको एघारौँ नगरसभामा नगर प्रमुख प्रद्युम्न प्रसाद चौहानको निर्देशनअनुसार प्रमुख प्रशासकीय अधिकृतले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए।

नगरसभामा उपप्रमुख रुबी कुमारी ठाकुर अनुपस्थित रहेकी थिइन्। साथै केही वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूको समेत उपस्थिति नदेखिएको स्रोतले जनाएको छ। स्थानीय तहको महत्वपूर्ण सभा मानिने नगरसभामा जनप्रतिनिधिहरूको अनुपस्थितिले विभिन्न चर्चा समेत जन्माएको छ।

प्रस्तुत बजेटमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान, प्रदेश सरकारको अनुदान तथा नगरपालिकाको आन्तरिक आयलाई मुख्य स्रोतका रूपमा समेटिएको छ। नगरपालिकाले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

नीति तथा कार्यक्रममा सडक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ, डिजिटल सेवा प्रवाह तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ। नगर क्षेत्रको सौन्दर्यीकरण, पार्क तथा हरियाली प्रवर्द्धन, सार्वजनिक सेवा प्रभावकारी बनाउने तथा नगरभित्रका सडक र भौतिक संरचनाको गुणस्तर अभिवृद्धि गर्ने योजनासमेत अघि सारिएको छ।

त्यसैगरी नगरपालिकाले बेरुजु न्यूनीकरण, राजस्व संकलन वृद्धि, पारदर्शी प्रशासन, सूचना प्रविधिको प्रयोग विस्तार तथा सार्वजनिक खर्चलाई परिणाममुखी बनाउने नीति अवलम्बन गर्ने जनाएको छ। स्वास्थ्य सेवा विस्तार, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षा कार्यक्रमलाई समेत निरन्तरता दिइने उल्लेख गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृतले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटले नगरको आर्थिक, सामाजिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै योजनाबद्ध र उत्तरदायी ढंगले कार्यान्वयन गरिने बताए। नगरपालिकाले आगामी आर्थिक वर्षलाई सेवा प्रवाह सुधार, विकास निर्माणको गति वृद्धि तथा सुशासन प्रवर्द्धनको वर्षका रूपमा अघि बढाउने लक्ष्य लिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित