विश्व योग दिवसमा आईसीपी क्याम्पसमा भव्य योग शिविर, सयौंको सहभागिता

 

रक्सौल । विश्व योग दिवसको अवसरमा भारत–नेपाल सीमास्थित एकीकृत चेक पोस्ट (आईसीपी) क्याम्पसमा आइतबार भव्य योग शिविर सम्पन्न भएको छ। भारत विकास परिषद्, रक्सौल शाखा तथा भारतीय भूमि बन्दरगाह प्राधिकरण, रक्सौलको संयुक्त आयोजनामा सम्पन्न शिविरमा सयौं व्यक्तिले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

कार्यक्रमको उद्घाटन आईसीपी प्रशासक कुमार राजीव रञ्जन, एसएसबीका सहायक कमान्डेन्ट अम्ब्रीश चौबे, योग प्रशिक्षक चण्डेश्वर प्रसाद साह, डा. विजय कुमार, भारत विकास परिषद्का अध्यक्ष रजनीश प्रियदर्शी तथा सचिव नरेश कुमारले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटनसँगै सामूहिक रूपमा ‘वन्दे मातरम्’ गायन गरिएको थियो।

यस अवसरमा सहभागीहरूलाई गुलाबको फूलद्वारा स्वागत गरिएको थियो। साथै आईसीपी प्रशासक कुमार राजीव रञ्जन, सहायक कमान्डेन्ट अम्ब्रीश चौबे, डा. विजय कुमार, शिक्षाविद् डी.एन. कुशवाहा, अन्तर्राष्ट्रिय जनसेवा संगठनकी मीतु गुप्ता, काली सेनाकी राष्ट्रिय प्रमुख पार्वती तिवारी तथा माहेर ममता निवासका प्रबन्धक वीरेन्द्र कुमारलाई सम्मान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले योगलाई भारतको प्राचीन सांस्कृतिक सम्पदा तथा स्वस्थ जीवनको आधारका रूपमा व्याख्या गरेका थिए। उनीहरूले योगले शरीर, मन र मस्तिष्कबीच सन्तुलन कायम गर्दै सकारात्मक सोच, आत्मविश्वास र ऊर्जा प्रदान गर्ने बताएका थिए।

योग प्रशिक्षक चण्डेश्वर प्रसाद साहले योग केवल शारीरिक व्यायाम नभई जीवन जिउने सम्पूर्ण कला भएको उल्लेख गर्दै सहभागीहरूलाई कपालभाति, भस्त्रिका, भ्रामरीलगायत विभिन्न योगासन, प्राणायाम तथा ध्यान अभ्यास गराएका थिए। सहभागीहरूले अनुशासित र उत्साहजनक रूपमा योग अभ्यासमा सहभागिता जनाएका थिए।

आईसीपी प्रशासक कुमार राजीव रञ्जनले वर्तमान समयको तनावपूर्ण जीवनशैलीमा योग स्वस्थ, सन्तुलित र सुखी जीवनको प्रभावकारी माध्यम बनेको बताए। परिषद्का पदाधिकारीहरूले योगलाई भारतको सांस्कृतिक तथा आध्यात्मिक धरोहरको प्रतीक भएको उल्लेख गर्दै यसले आत्मअनुशासन, सकारात्मक सोच र जीवनमा सन्तुलन कायम गर्न मद्दत गर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रम संयोजक अरविन्द जयसवालले यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको मूल विषय ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ अत्यन्त सान्दर्भिक रहेको बताउँदै नियमित योग अभ्यासले शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा समृद्ध बनाउने बताए।

समापन समारोहमा भारतीय भूमि बन्दरगाह प्राधिकरणले भारत विकास परिषद्का अध्यक्ष रजनीश प्रियदर्शी तथा योग प्रशिक्षक चण्डेश्वर प्रसाद साहलाई स्मृति–चिन्ह प्रदान गरी सम्मान गरेको थियो। अध्यक्ष प्रियदर्शीले सहभागी, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउन आग्रह गरे।

राष्ट्रिय गानसँगै कार्यक्रम सम्पन्न भएको थियो। त्यसपछि सहभागीहरूलाई खाजा तथा पेय पदार्थ वितरण गरिएको थियो।

भारत विकास परिषद्का सम्पर्क संयोजक उमेश सिकरिया तथा सेवा संयोजक एवं मिडिया इन्चार्ज बिमल कुमार सर्राफका अनुसार शिविरलाई सफल बनाउन परिषद्का पदाधिकारी, सदस्य, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, एसएसबीका जवान, भूमि बन्दरगाहका कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय योगदान रहेको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित