शंकराचार्य गेटमा अन्तर्राष्ट्रिय योग दिवस : भारत–नेपाल मित्रताको सन्देश

 

वीरगंज, २१ जुन । भारतको महावाणिज्य दूतावास, वीरगंजले १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रतिष्ठित शंकराचार्य गेटमा विशेष योग कार्यक्रम आयोजना गरेको छ। भारत र नेपालबीचको गहिरो सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धको प्रतीक मानिने उक्त स्थलमा आयोजित कार्यक्रममा सयौँ योगप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव रहनुभएको थियो। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेल तथा वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

त्यसैगरी सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, स्थानीय उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधि, नेपाल–भारत मैत्री संघ, पतञ्जलि योग समिति (पर्सा र बारा), पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको विशेष आकर्षण योग विद्यार्थीहरूले प्रस्तुत गरेको उन्नत योग आसन प्रदर्शन रह्यो। उनीहरूले अनुशासन, लचकता र एकाग्रताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै योगको महत्वलाई प्रभावकारी रूपमा प्रदर्शन गरेका थिए। उपस्थित अतिथि तथा सहभागीहरूले उक्त प्रस्तुतीको उच्च प्रशंसा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्यदूतले योगलाई भारतले विश्वलाई दिएको अमूल्य उपहारको रूपमा उल्लेख गर्दै यसले शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने बताउनुभयो। योगले सीमाना र संस्कृतिका भिन्नतालाई पार गर्दै मानवतालाई एकसूत्रमा बाँध्ने शक्ति राख्ने उहाँको भनाइ थियो।

मुख्यमन्त्री यादवले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित विभिन्न योग कार्यक्रममार्फत जनचेतना अभिवृद्धि गर्न भारतको महावाणिज्य दूतावासले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। यस्ता गतिविधिले भारत–नेपालबीचको सांस्कृतिक निकटता र जनस्तरको सम्बन्ध अझ सुदृढ बनाएको उहाँले बताउनुभयो।

मध्यरातको वर्षाका बाबजुद बिहानैदेखि ठूलो सङ्ख्यामा सहभागीहरू कार्यक्रममा उपस्थित भएका थिए। स्वास्थ्य, सद्भाव र समग्र कल्याणको सन्देश बोकेको उक्त कार्यक्रमले सीमापार मित्रता, एकता र स्वस्थ जीवनशैली प्रवर्द्धनमा योगको प्रभावकारी भूमिका पुनः स्थापित गरेको आयोजकले जनाएको छ।

महावाणिज्य दूतावासले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा विगत केही सातादेखि विभिन्न स्थानमा योगसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो। शंकराचार्य गेटमा सम्पन्न मुख्य समारोहसँगै यस वर्षको योग दिवस कार्यक्रम शृङ्खला औपचारिक रूपमा सम्पन्न भएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित