जिराभवानी गाउँपालिकाको १७ औं गाउँसभामा ४० करोड ८३ लाखको बजेट सार्वजनिक

 

हरिकिशोर शर्मा / असार ५ जिराभवानी पर्सा ।

पर्साको जिराभवानी गाउँपालिकाको १७ औँ गाउँसभा आज सम्पन्न भएको छ।गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४० करोड ८३ लाख रुपैयाँ बराबरको बजेट तथा नीति–कार्यक्रम प्रस्तुत गरिएको छ।

गाउँसभामा गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

गाउँसभामा प्रस्तुत बजेट अनुसार शिक्षा क्षेत्र विकासका लागि २ करोड रुपैयाँ, स्वास्थ्य क्षेत्र विकासका लागि १ करोड रुपैयाँ, कृषि क्षेत्र विकासका लागि १ करोड ५० लाख रुपैयाँ, भौतिक पुर्वाधार बिकासका लागि ५ करोड रुपैयाँ तथा सामाजिक क्षेत्र विकासका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यसैगरी विभिन्न शीर्षक अन्तर्गत अध्यक्ष स्तरिय योजनाको लागि ६० लाख रुपैयाँ, उपाध्यक्ष कार्यक्रमका लागि ६० लाख रुपैयाँ, वडास्तरीय योजनाका लागि ६० लाखको दरले तथा कार्यपालिकास्तरीय योजनाका लागि २० लाखको दरले बजेट प्रस्ताव गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत गिरीले दिए ।गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष अनोज चौधरीले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गरिएको बताए।उनले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा जनअपेक्षा सम्बोधनमा केन्द्रित भएर आगामी वर्षका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे।

उपाध्यक्ष रेखा चौधरीले महिला, बालबालिका, किसान तथा विपन्न समुदायको जीवनस्तर सुधारमा बजेटले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।

प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले बजेटको प्रभावकारी कार्यान्वयन, पारदर्शिता तथा सुशासनलाई प्राथमिकतामा राखी योजनाहरू समयमै सम्पन्न गरिने प्रतिबद्धता जनाए।

जिराभवानी गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी आवश्यक सुझावसहित अनुमोदन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित