युवा नेता बिकेश राय थारू दर्जनौँ समर्थकसहित पुनः रास्वपामा फर्किए, सांसद कानूद्वारा भव्य स्वागत

 

अभिलाष गुप्ता

पर्सागढी, ३० जेठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढीका युवा नेता बिकेश राय थारू पुनः आफ्नै राजनीतिक घर रास्वपामा फर्किएका छन्। केही समयअघि आन्तरिक तथा सांगठनिक असमझदारीका कारण अन्य राजनीतिक दलमा आबद्ध भएका थारू पार्टीको विचार, सिद्धान्त र जनमुखी कार्यशैलीप्रति निरन्तर आस्था राख्दै आएका कारण दर्जनौँ साथी–समर्थकसहित पुनः रास्वपामा आबद्ध भएका हुन्।

पर्सागढीमा आयोजित एक विशेष कार्यक्रमबीच थारूले औपचारिक रूपमा पार्टीमा पुनः प्रवेश गरेका हुन्। कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानूले खादा र अबिर लगाएर थारूलाई पार्टीमा स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा बोल्दै सांसद कानूले सक्षम, इमानदार र जनतामाझ लोकप्रिय युवाहरू पार्टीमा पुनः फर्किनु रास्वपाका लागि सकारात्मक संकेत भएको बताए। उनले यस्ता युवाको सक्रियताले पार्टी संगठनलाई थप मजबुत बनाउनुका साथै आगामी निर्वाचनमा पनि राम्रो परिणाम हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

“रास्वपा परिवर्तनको अभियान बोकेको पार्टी हो। जनताको आशा र भरोसालाई केन्द्रमा राखेर काम गर्ने युवाहरूको पुनरागमनले संगठनलाई थप ऊर्जा र गति प्रदान गर्छ,” सांसद कानूले भने।

युवा नेता थारू गत स्थानीय तह निर्वाचनमा पर्सागढी नगरपालिका वडा नं. १ बाट वडाध्यक्ष पदका उम्मेदवार बनेका थिए। निर्वाचनमा उनले उल्लेखनीय मत प्राप्त गर्दै झिनो मतान्तरले दोस्रो स्थान हासिल गरेका थिए। स्थानीय तहमा सक्रिय राजनीतिक भूमिका निर्वाह गर्दै आएका थारू रास्वपा पर्सागढीको प्रथम अधिवेशनदेखि नै पार्टी संगठनमा सक्रिय रूपमा संलग्न रहँदै आएका थिए।

पार्टीमा पुनरागमनपछि थारूले आफूले रास्वपाको मूल उद्देश्य, नीति र जनताप्रतिको उत्तरदायित्वपूर्ण राजनीतिक संस्कारलाई नजिकबाट अनुभूति गरेको बताउँदै जनताको अपेक्षा पूरा गर्न पुनः पार्टीमार्फत सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे। उनले युवाहरूको नेतृत्व विकास, सुशासन र जनउत्तरदायी राजनीतिका लागि आफू निरन्तर क्रियाशील रहने बताए।

पर्सागढी नगर सभापति कविराज अर्यालको अध्यक्षतामा सम्पन्न स्वागत तथा घरवापसी कार्यक्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा युवा नेता सुधीर पटेल, नेता बुद्धिराज पौडेल तथा जोखू मियाँको विशेष सहभागिता रहेको थियो।

त्यसैगरी नगर उपसभापति सुनील रायभर, नगर सचिव सर्फू आलम अन्सारी, वडा सभापतिहरू मिनबहादुर भण्डारी, उमेश राउत, फिरोज मियाँ, रामलीला चौधरी लगायत स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी नेताहरूले बिकेश राय थारूको पुनरागमनले पर्सागढी क्षेत्रमा पार्टीको संगठनात्मक अवस्था थप सुदृढ हुने, युवावर्गमा नयाँ उत्साह पैदा हुने तथा आगामी राजनीतिक गतिविधिहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका थिए।

रास्वपाले पछिल्लो समय पर्सा जिल्लाका विभिन्न स्थानीय तहमा संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तीव्रता दिइरहेका बेला युवा नेता थारूको घरफिर्तीलाई संगठनका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। स्थानीय नेतृत्वले उनको पुनरागमनले पार्टीलाई थप बलियो र प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित