तस्करीको समाचारपछि तीन पत्रकारमाथि आक्रमण

 

वीरगंज, ३० जेठ

वीरगंज तथा आसपासका नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको अनधिकृत चोरी पैठारी (तस्करी) सम्बन्धी समाचार संकलन तथा प्रकाशन गरेपछि तीन जना पत्रकारमाथि ज्यानलेवा आक्रमण भएको आरोप लागेको छ। घटनाको नेपाल पत्रकार महासंघ पर्सा शाखा, हिन्दू पत्रकार संघ नेपाललगायत सञ्चारकर्मी संगठनहरूले कडा विरोध गरेका छन्।

गत शुक्रबार (जेठ २९ गते) राति करिब १२:४० बजे वीरगंज महानगरपालिका–१० स्थित सिर्सिया जाने सडकखण्डमा पत्रकार सञ्जय कुशवाहा, रवि वर्णवाल र दिशानिर्देश अनलाइनका पत्रकार रुस्तम अलीमाथि आक्रमण भएको हो। कार्यालयको काम सकेर घर फर्किरहेका बेला उनीहरू सवार मोटरसाइकललाई एक समूहले बाटोमै रोकेर कुटपिट गरेको बताइएको छ।

नेपाल पत्रकार महासंघ पर्सा शाखा तथा हिन्दू पत्रकार संघ नेपालद्वारा जारी विज्ञप्तिअनुसार खुला सिमानाको दुरुपयोग गरी भइरहेको तस्करीसम्बन्धी समाचार सार्वजनिक गरेको प्रतिशोधस्वरूप चोरी पैठारीमा संलग्न रहेको आरोप लागेका पशुपति यादवको नेतृत्वमा आएको १०–१२ जनाको समूहले पत्रकारहरूमाथि आक्रमण गरेको हो। आक्रमणकारीहरूले पत्रकारहरूसँग रहेका मोबाइल फोन, नगद रकम तथा सुनको सिक्रीसमेत लुटेर लगेका जनाइएको छ।

पीडित पत्रकारहरूका अनुसार आक्रमणकारीहरूले तस्करीसम्बन्धी समाचार प्रकाशन गरेको विषयलाई लिएर धम्की दिएका थिए। उनीहरूले समाचारका कारण आफ्नो गतिविधिमा असर पुगेको भन्दै पत्रकारहरूलाई ज्यान मार्ने चेतावनीसमेत दिएका थिए।

घटनापछि नेपाल पत्रकार महासंघ पर्सा शाखा र हिन्दू पत्रकार संघ नेपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको कडा भर्त्सना गरेका छन्। महासंघ पर्साका सचिव विजयकुमार महतो तथा हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारले पत्रकारमाथिको आक्रमणलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको ठाडो प्रहार भएको बताएका छन्।

उनीहरूले घटनामा संलग्न मुख्य योजनाकारसहित सबै दोषीलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन तथा कानुनी कारबाही गर्न सरकार, प्रशासन र सुरक्षा निकायसँग माग गरेका छन्। साथै पत्रकारहरूको सुरक्षाप्रति संवेदनशील बन्न सम्बन्धित निकायलाई आग्रह गर्दै दोषीलाई कानुनी दायरामा नल्याइए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।

अग्निपथ मिडिया प्रालिका पर्सा जिल्ला संवाददाता सञ्जय कुशवाहाका अनुसार घटनाबारे वडा प्रहरी कार्यालय बिर्तामा जानकारी गराइसकिएको छ। घटनास्थल आसपासका सिसिटिभी फुटेज संकलन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए।

यता जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले घटनालाई गम्भीर रूपमा लिइएको बताउँदै संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र पारिएको जानकारी दिएका छन्। उनका अनुसार दोषीहरूलाई छिट्टै नियन्त्रणमा लिएर कानुनी कारबाही गरिनेछ।

सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध गतिविधिबारे समाचार सम्प्रेषण गर्ने पत्रकारहरूमाथि भएको यस घटनाले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र कानुनी शासनको अवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै सञ्चार क्षेत्रले दोषीमाथि तत्काल कारबाहीको माग गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित