९ महिनादेखि तलब नपाएपछि धर्नामा छिपहरमाई गाउँपालिकाका करार कर्मचारी

 

हरिकिशोर शर्मा / जेठ २८ जिराभवानी पर्सा

पर्साको छिपहरमाई गाउँपालिकामा कार्यरत करार कर्मचारीहरू नौ महिनादेखि तलब–भत्ता नपाएको भन्दै विगत तीन दिनदेखि गाउँपालिका कार्यालय अगाडि शान्तिपूर्ण धर्नामा बसेका छन्। लामो समयसम्म पारिश्रमिक नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको कर्मचारीहरूको भनाइ छ।

कर्मचारीहरूका अनुसार २०८२ साल कार्तिक महिनादेखि हालसम्मको तलब–भत्ता भुक्तानी हुन बाँकी रहेको छ। पटक–पटक सम्बन्धित निकायसँग माग गर्दा पनि “यो महिना” वा “अर्को महिना” भुक्तानी हुने आश्वासन मात्र प्राप्त भएको तर व्यवहारमा कुनै पहल नभएकाले आन्दोलनको बाटो रोज्नुपरेको उनीहरूले बताएका छन्।

आन्दोलनरत कर्मचारीहरूले गाउँपालिकाकी कार्यवाहक अध्यक्ष लिलावती देवी कानुलाई ज्ञापनपत्र बुझाउँदै बक्यौता तलब–भत्ता तत्काल उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले २०८३ जेठ २५ गतेदेखि कार्यालयको नियमित कामकाजसँगै धर्ना कार्यक्रम सुरु गरेको उल्लेख गर्दै समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

धर्नामा सहभागी करार कर्मचारी गौरीशङ्कर यादवले लामो समयदेखि पारिश्रमिक नपाउँदा आफूहरू गम्भीर आर्थिक संकटमा परेको बताए। “नौ महिनादेखि तलब पाएका छैनौँ। घरभाडा, छोराछोरीको शिक्षा, बैंक ऋण र दैनिक खर्च व्यवस्थापन गर्न निकै कठिन भइरहेको छ,” उनले भने, “हामी सेवा प्रवाह अवरुद्ध गर्न चाहँदैनौँ, तर आफ्नो मेहनतको पारिश्रमिक नपाउँदा चुप लागेर बस्न सक्ने अवस्था पनि छैन।”

कर्मचारीहरूको आन्दोलनका कारण गाउँपालिकाबाट प्रवाह हुने प्रशासनिक तथा विकाससम्बन्धी सेवा प्रभावित हुन सक्ने देखिएको छ। यसले स्थानीय सेवाग्राहीहरूमा समेत अन्योलता बढाएको छ।

यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि सम्पर्क हुन नसकेको बताइएको छ। तलब–भत्ता भुक्तानीमा ढिलाइ हुनुको कारणबारे गाउँपालिकाले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

कर्मचारीहरूले आफ्नो जायज मागको सम्बोधन गर्दै तत्काल बक्यौता तलब भुक्तानी गर्न गाउँपालिका नेतृत्वसँग आग्रह गरेका छन्। समस्या समाधान नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरूको चेतावनी छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित